काठमाडौ : नगरपालिका क्षेत्रमा उत्पन्न हुने मानव मलमूत्र व्यवस्थापनका लागि विभिन्न नगरपालिकाका इञ्जिनियरहरुलाई तालिम दिइएको छ । प्रदेश नं २ का १७ नगरपालिका, ३ का दुई र गण्डकी प्रदेशका एक नगरपालिकाका इञ्जिनियरहरुलाई तालिम दिइएको हो । तालिम खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संगठन जनस्वास्थ्य इञ्जिनियर समाज (सोफेन), वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र ५०० बी सोलुसन प्रा.लि. ले संयुक्त रुपमा आयोजना गरेको हो ।
मानव मलमूत्रको व्यवस्थापन राजधानी सहित नेपालका सबै नगरहरुमा ठूलो चुनौतीको रुपमा रहेको र जनस्वास्थ्यको क्षेत्रका काम गर्ने इञ्जिनियरहरुले यसका व्यवस्थापनका बारेमा समयमा राम्रो जानकारी पाएमा नगरमा बन्ने शौचालय, ढल, ढल प्रशोधन केन्द्र र त्यसबाट निसृत हुने पानी तथा मलको सही व्यवस्थापन गरी नगरलाई स्वच्छ राख्न सघाउ पुर्याउन सक्ने नेपाल इञ्जिनियर्स एशोसिएसन तथा सोफेनका पूर्व अध्यक्ष किशोर शाक्यले बताउनुभयो ।
तालिमको समापनमा बोल्दै नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले मानव मल मूत्रको व्यवस्थापन नगरको सफाइ,पानीका श्रोत र नदी नालाहरुको स्वच्छता र मानव सभ्यतासंग पनि जोडिएको विषय भएकोले यस क्षेत्रमा काम गर्ने इञ्जिनियरहरुले मानवीय स्वास्थ्य सहित सबै विषयलाई ध्यानमा राखेर योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
यस्तै सोफेनका अध्यक्ष रामदीप साहले जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इन्जिनियरहरुको संस्था भएकोले सोफेनले खानेपानी, वातावरण र सरसफाइको क्षेत्रमा देश व्यापी अभियान चलाएको बताउनुभयो ।
तीन दिनसम्म चलेको तालिमको आइतबार समापन गरिएको छ ।


1393 पटक हेरिएको 

