
काठमाडौ : नेपालको साना शहरी क्षेत्रमा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनाका लागि स्मार्ट पानी व्यवस्थापन सम्बन्धी कार्यशाला काठमाडौमा शुरु भएको छ । आजदेखि शुरु भएको कार्यशालामा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनाका लागि पानीको सही व्यवस्थापनका विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ । यस्तै खानेपानीको दिगो व्यवस्थापनका लागि स्मार्ट वाटर ग्रिड समाज, कोरियाको अभ्यासबारे अनुभव आदानप्रदान गरिनेछ ।
कार्यशालामा स्मार्ट वाटर ग्रिड समाज, कोरियाका अध्यक्ष गेउन चोइले जनस्वास्थ्य इञ्जिनियर समाज (सोफेन) र कोरियाको स्मार्ट वाटर ग्रिड समाज बीच अब निरन्तर सहकार्य हुने बताउनुभयो । उहाँले मुस्ताङको बेनीमा सञ्चालित खानेपानी आयोजनाको अवलोकन गरेको र खानेपानीको व्यवस्थापन समुदायले नै गरेको प्रति आफू खुसी भएको समेत बताउनुभयो ।
यस्तै पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले नेपालमा स्मार्ट पानीको आवश्यकता औल्याउनुभयो । उहाँले जलवायु परिवर्तनको असर खानेपानीमा देखिएको र यसको उपलब्धता कमी हुँदै गएको, खानेपानीको मुहान संरक्षणको आवश्यकता रहेको, गुणस्तरयुक्त खानेपानीमा सबै मानिसको पहुँच नभएको, खानेपानीको गुणस्तरमा एकरुपता ल्याउनुपरेको लगायत कारणले स्मार्ट पानी व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो ।
कार्यशाला खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संगठन जनस्वास्थ्य इञ्जिनियर समाज (सोफेन) ले आयोजना गरेको हो ।
भोलिसम्म चल्ने कार्यशालामा पाइपलाइन, आकाशेपानी संकलन विधि र फाइदा, बेनी नगरपालिका र पानीको मुद्दा लगायतको विषयमा छलफल हुनेछ ।


1497 पटक हेरिएको 

