हैजा नियन्त्रण तथा पूर्व तयारीका लागि अभिमुखीकरण

काठमाडौ : हैजा नियन्त्रण तथा पूर्व तयारी र खानेपानीको गुणस्तरको विषयमा खानेपानी स्रोत उपभोक्ता समिति, खानेपानी व्यवसायी तथा चन्द्रागिरी नगरपालिका, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड तथा सरोकारवाला सहितको अन्तरक्रिया तथा तालिम सम्पन्न भएको छ ।

बर्षायाममा फैलिन सक्ने झाडापखाला तथा हैजा नियन्त्रणका लागि क – कसको भूमिका के हुन सक्छ भन्ने बिषयमा छलफल गर्न अन्तरक्रिया तथा तालिमको आयोजना गरिएको थियो । काठमाडौ उपत्यकामा ट्याङ्करले आपूर्ति गर्दै आएको पानी चन्द्रागिरीको मातातीर्थ क्षेत्रको भएको र त्यस क्षेत्रका ट्याङ्कर व्यवसायी र खानेपानी स्रोत उपभोक्ता समितिहरुलाई जिम्मेवार बनाउन सके खानेपानीको गुणस्तर कायम गर्न सकिने भएकाले ट्याङ्कर व्यवसायी र खानेपानी स्रोत उपभोक्ता समितिलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम गरिएको आयोजक MinErgy ले जनाएको छ ।

विगत बर्षहरुमा पनि काठमाडौ उपत्यकामा हैजा फैलिएको थियो ।

हैजा नियन्त्रणका लागि खानेपानी स्रोत उपभोक्ता समिति, ट्याङ्कर व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय सबै आ आफ्नो भूमिका प्रति जिम्मेवार हुनुपर्नेमा अन्तरक्रियाका सहभागीले जोड दिएका छन् ।

अन्तरक्रियाका क्रममा खानेपानीमा हुनुपर्ने न्यूनतम मापदण्डहरुका बिषयमा आफूलाई जानकारी भएमा सोही मापदण्डको पानी आपूर्ति गर्न प्रयासरत रहने ट्याङकर व्यवसायीले बताएका थिए ।

कार्यक्रमका सहभागीले गुणस्तरीय खानेपानी आपुर्तिका लागि भ्याली बोर्ड र नगरपालिकाले समेत बेला बेलामा अनुगमन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा खानेपानी स्रोत उपभोक्ता समितिका पदाधिकारीहरु, ट्याङ्कर व्यवसायी, उपभोक्ता, चन्द्रागिरी नगरपालिकाका पदाधिकारी तथा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारी लगायतको उपस्थिति थियो ।

युुनिसेफको आर्थिक एवं मिनर्जीको प्राविधिक सहयोगमा हैजाको रोकथाम तथा नियन्त्रण गर्न चन्द्रगिरी नगरपालिकाको क्षमता अभिबृद्धिका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार