निर्माण भएको दुई साता नबित्दै गाउँपालिका अध्यक्षको निर्देशनमा ढल भत्काइयो

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका १, मदनचोकमा फोहोर पानी निकासका लागि बनाइएको पक्की ढल निर्माण गरेको दुई साता नबित्दै भत्काइएको छ । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको निर्देशनमा १ सय ८० मिटर लामो पक्की ढल भत्काइएको हो ।

ढलको पानीले गाउँ नै डुबान भएपछि स्थानीय बासिन्दाको आग्रहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ढल भत्काउन लगाउनुभएको हो । त्यसअघि पक्की ढलबाट पानी निकास नहुने डिजाइन विपरीत ढल निर्माण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।

गाउँपालिकाको ९ लाख ६० हजार रुपैयाँ लागतमा निर्मित ढल भत्काउन ५० हजार रुपैयाँ थप खर्च भएको छ । ४ इन्च मात्र मोटाई भएको पर्खाल भएको ढल जुनसुकै बेला भत्किने अवस्था भएकाले भत्काइएकै राम्रो भएको भीमबहादुर सिंहले बताउनुभयो । ‘प्राविधिक त्रुटी भएको छ, यसमा गाउँपालिकाका पदाधिकारीको समेत कमजोरी छ, लापरबाहीले गर्दा ठूलो रकम क्षति भएको छ’ उहाँले भन्नुभयो ।

निर्माणकै बेला कमजोर र डिजाइन अनुसार भएन भनेर रोक्ने प्रयास गर्दा समेत नरोकिएपछि आर्थिक क्षति भएको दानबहादुर सुनारले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार