म्याग्दी : म्याग्दी सदरमुकाम बेनीमा उत्पादित फोहोरलाई अब कालीगण्डकीमा नफालिने भएको छ । यसका बेनी नगरपालिका वडा नं. ८ र ९ को सिमानामा पर्ने रातो पहिरोमा फोहोर व्यवस्थापन केन्द्र बनाउने भएको छ ।
रातो पहिरोस्थित कालिगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गामा फोहोर व्यवस्थापन केन्द्र बनाउन सोमरस निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।
फोहोर ब्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा सम्याउने, कालिगण्डकी किनारमा ग्याबिन पर्खा लगाउने र भवन बनाउने कामका लागि ४७ लाख रुपैयाँमा कम्पनीले ठेक्का सम्झौता गरेको हो ।
असोज महिनासम्म फोहोर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र बनाएको निर्माण ब्यवसायी प्रविन सापकोटाले बताउनुभयो ।
फोहोर व्यवस्थापन गर्दा कालिगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने प्रविधि अपनाइने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
अहिले सोही स्थानमा खुल्ला रूपमा फोहोर फालिँदै आएको छ । अव्यवस्थित रूपमा फ्याँकेको फोहोरले नदी र वरपरका क्षेत्रमा दुर्गन्ध फैलिएको छ । स्थायी फोहोर व्यवस्थापन गर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनुभयो ।


2108 पटक हेरिएको 

