नगरप्रमुख भन्छन् जत्ति सक्नुहुन्छ फोहोर गर्नुहोस्, फोहोरबाटै ८० लाख आम्दानी

स्याङजा : स्याङजाको वालिङ नगरपालिकामा न डम्पिङ साइट छ, न ल्याण्डफिल साइट नै, तर पनि शहरमा फोहोर थुप्रिएको रेकर्ड कहिल्यै छैन । छ त केवल फोहोर थुपार्ने ठाउँ अर्थात् वालिङ नगरपालिका सरसफाइ केन्द्र । शहरलाई स्वच्छ र सफा राख्न डम्पिङ साइट वा ल्याण्डफिल साइट नै हुनुपर्छ भन्ने मान्यतालाई गलत साबित गराउदै वालिङले फोहोरमैला व्यवस्थापनको क्षेत्रमा नमुना प्रस्तुत गरेको छ ।

अरु नगरपालिकाका प्रमुखहरु भाषण गर्छन् काम गर्दैनन् उनीहरु नगरबासीलाई पनि फोहोर नगर्न बारम्बार आग्रह गर्छन् । तर वालिङका नगर प्रमुख काम गर्नुहुन्छ । नगरप्रमुख दिलीप प्रताप खाँड जति सक्नुहुन्छ फोहोर गर्नुहोस् भन्नुहुन्छ । किनकि फोहोरमा पैसा देख्नुभएको छ उहाँले । यसबाट नगरलाई प्रशस्त आम्दानी हुन्छ ।
वालिङका बासिन्दा घरघरबाट कुहिने नकुहिने फोहोर छुट्याउँछन् । कुहिने फोहोरबाट नगरपालिकाले मल बनाउँदै आएको छ भने नकुहिने फोहोरलाई सूक्ष्म रुपमा बर्गीकरण गरी कवाडमा बेचिन्छ ।

नगरप्रमुख खाँडका अनुुसार फोहोर बेचेरै नगरपालिकाले बार्षिक ८० लाखसम्म आम्दानी गरेको छ । फोहोर व्यवस्थापनका लागि करोडौं खर्चने नगरपालिकाहरुका लागि यो भन्दा राम्रो उदाहरण हुनै सक्दैन ।

फोहोर व्यवस्थापनको नमुना हेर्न कुनै विदेश भ्रणमा नगएका नगर प्रमुखले गरेको यो काम अति उदाहरणीय छ । नारा र भाषणमा आकाश–पाताल जोड्ने तर व्यवहारमा सिन्को नभाँच्ने नगर प्रमुखहरुले एक पटक वालिङको भ्रमण गर्न आवश्यक छ कि त्यहाँ फोहोर व्यवस्थापनको काम कसरी भइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार