भैरहवा : राजनीतिक दलहरुको स्वार्थका कारण रुपन्देहीको पट्खौलीमा निर्माण गर्ने तयारी भएको ३२ करोड बढी लागतको फोहोरमैला प्रशोधन केन्द्र बन्न सकेको छैन ।
एसियाली विकास बैंकको ३२ करोड १५ लाख ७४ हजार ऋण सहयोगमा सिद्धार्थनगर नगरपालिकाले ओमसतिया गाउँपालिका वडा नं. ५ मा बनाउने तयारी गरेको प्रशोधन केन्द्रलाई ‘डम्पिङ्साइट’ नामाकरण गरी विपक्षी राजनीतिक दलले स्थानीय बासिन्दालाई उक्साएपछि अन्योलता उत्पन्न भएको छ ।
प्रशोधन केन्द्र निर्माणमा कांग्रेस जिल्ला सभापति एवं पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दी, राप्रपाका ताहिर अली र फोरम, राजपालगायतका पार्टीका नेताले स्थानीयलाई प्रत्यक्ष, अप्रत्यक्ष साथ दिएर विरोध गर्न उक्साएपछि प्रशोधन केन्द्र बन्ने या नबने निश्चित भएको छैन ।
सिद्धार्थनगरभित्र जग्गा अभाव भएपछि ६ वर्षअघि नजिकै रहेको ओमसतियाको पट्खौलीमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने भन्दै सिद्धार्थनगरले ६ विगाहा जग्गा खरिद गरेको थियो । तर प्रशोधन केन्द्रबारे नगरपालिकाले समेत वास्तविकता बुझाउन नसकेकाले र विपक्षी दलले डम्पिङ साइट भनेर गलत सन्देश छरेकाले स्थानीयले वातावरण प्रदूषण हुने भन्दै प्रशोधन केन्द्र बनाउन अवरोध गर्दै आएका छन् ।
वातावरणीय प्रभाव मूल्यांकन अनुसार बन्ने प्रशोधन केन्द्रले वातावरणमा कुनै असर नपुर्याउने नगरपालिकाले दाबी गर्दै आए पनि स्थानीयले भने अवरोध जारी राखेका छन् । त्यसमा राजनीतिकरण हुँदा झनै समस्या निम्तिएको छ । जसले गर्दा भैरहवा क्षेत्रको फोहोर व्यवस्थापन गर्न नगरपालिकालाई समस्या थपिएको छ ।
स्थानीयबासी, जनप्रतिनिधि, राजनीतिक दल लगायत सरोकारवाला निकायहरुसँग अवरोध हटाउन विभिन्न चरणमा पहलहरु भएपनि विवाद टुङ्गोमा पुग्न नसक्दा फोहोर प्रशोधन केन्द्रको काम अघि बढ्न नसकेकोे सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए । यसअघि गाउँपालिका अध्यक्ष हिरा केवट नै प्रशोधन केन्द्र निर्माण गर्न नहुने पक्षमा थिए । तर पटक-पटकको वार्तापछि उनले डम्पिङ्साइट नभई प्रशोधन केन्द्र निर्माण हुने बुझेपछि सहमतिमा आएका छन् । तर स्थानीयलाई विपक्षी राजनीतिक दलले विरोधमा उतारेपछि काम अघि बढेको छैन ।
सिद्धार्थ नगरपालिकामा तत्कालीन एमालेको नेतृत्व छ । गाउँपालिका अध्यक्ष केवट सहमतिमा आएपछि नगरपालिका र गाउँपालिकाबीच प्रशोधन केन्द्र निर्माण सुरु गर्ने सहमति पनि भएको थियो । तर, पछि स्थानीय र राजनीतिक दलले संघर्ष समिति गठन गरेर विरोध सुरु गरेपछि काम अघि बढ्न नसकेको नगरपालिकाले जनाएको छ । ‘हामीले फोहोर प्रशोधन केन्द्रको वास्तविकताबारे बुझाउन पोखरा, स्याङ्जा लगायतका जिल्लाहरुमा निर्माण गरिएको प्रशोधन केन्द्र अवलोकन गराउन त्यहाँका स्थानीय, जनप्रतिनिधि लगायतलाई भ्रमण पनि गराइसकेका छौं,’ नगर प्रमुख अधिकारीले भने-‘अझै पनि ढुक्कसँग प्रशोधन केन्द्र निर्माण थाल्नुस् भनेर भन्नु भएको छैन ।’
प्रमुख अधिकारीले डम्पिङ्साइट नभई अत्याधुनिक प्रशोधन केन्द्र भएकाले सहयोग गर्न स्थानीय र राजनीतिक दललाई आग्रहसमेत गरे । उनले अत्याधुनिक हुने भएकाले प्रशोधन केन्द्रको अवलोकन गर्न ठाउँठाउँबाट आन्तरिक पर्यटन आउने भएकाले त्यसले गाउँको आन्तरिक स्रोत बृद्धिमा समेत सहयोग पुग्ने बताए ।
सिद्धार्थनगरमा दैनिक ३० टनभन्दा बढी फोहोर उत्पादन हुन्छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत रहेको सिद्धार्थनगरमा फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्र नहुँदा दैनिक उत्पादन हुने फोहोर अव्यवस्थित तरिकाले नगरभित्र पर्ने डण्डा खोलाको किनारमा फालिंदै आइएको छ । यसले गर्दा सरसफाइयुक्त नगर बनाउन कठिनाई भएको छ ।
नगर प्रमुख अधिकारीले पट्खौलीमा बन्ने प्रशोधन केन्द्रले सिद्धार्थनगरको मात्रै नभई ओमसतिया गाउँपालिकाको पनि फोहोर व्यवस्थापन गर्न सहयोग पुग्ने भएकाले अवरोध नगरी सहयोग गर्न सरोकारवालालाई आग्रह गरे ।
प्रशोधन केन्द्रमा कम्पोष्ट प्लान्ट, लिचेड टि्रटमेन्ट प्लान्ट, पुनः प्रयोग हुने र नहुने फोहोर छुट्टाउने प्लान्ट लगायत यन्त्र जडान हुने छ । यो नेपालमै नमूना प्रशोधन केन्द्र हुने दाबी गरिएको छ । अव्यवस्थित तरिकाले फोहोर फालिँदा दुर्गन्धित हुँदै गइरहेको भैरहवा क्षेत्र प्रशोधन केन्द्र निर्माणपछि थप व्यवस्थित हुने अपेक्षा लिए पनि ६ वर्षदेखि सपना साकार हुन सकेको छैन ।
Online Khabar बाट ।


1118 पटक हेरिएको 

