इलाम : इलाम बजारमा खानेपानी बोकेर खाने दिनको अन्त्य हुने भएको छ । इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजनाको सम्झौता भएपछि इलाम बजारमा खानेपानी आउने पक्का भएको हो ।
खानेपानी आयोजना सञ्चालन सम्बन्धी हालै आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आर्थिक बर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकार मार्फत एडीबीले ५८ करोड ५७ लाख ६० हजार २ सय ४ रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता अन्तर्गत ४ करोड १८ लाख ४० हजार १४ रुपैयाँ लगानी हुनेछ भने इलाम नगरपालिकाले २० करोड ९२ लाख ७३ रुपैयाँ नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।
आयोजनामा इलाम बजारका उपभोक्ताबाट ५ प्रतिशत नगद रकम दाखिला गरिसकेपछि सरोकारवाला बीच वित्तीय सम्झौता भएको हो । स्थानीयले प्रतिधारा १५ हजार २ सयका दरले भुक्तानी गरिसकेका छन् । लागत सहभागिता वापतको रकम उपभोक्ताले तिरिसकेपछि आयोजनाको आधिकारिक उपभोक्ता बन्नका साथै उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुुभयो ।
चारवटा खोलाको पानीबाट आयोजना सञ्चालन गरिने
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुुभयो । आयोजनाबाट सदरमुकाममा प्रति सेकेन्ड ४१ लिटर पानी आउने उहाँले बताउनुुभयो ।
आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइनेछ । आयोजना सम्पन्न भएपछि उपभोक्ताको धारामा २४ सै घण्टा पानी आउने छ ।
आयोजनामा यी संरचना रहने
आयोजना अन्तर्गत दुईवटा मर्मत सम्भार समेत गरी ४ वटा इन्टेक निर्माण गरिनेछ । त्यस्तै १ हजार ३९२।५ घनमिटर क्षमताका ९ वटा ट्यांकी निर्माण गरिनेछ । आयोजना सम्पन्न भएपछि आगामी २० वर्षसम्म इलामवासीले खानेपानीको अभाव झेल्लु नपर्ने नगरप्रमुख महेश बस्नेतले बताउनुुभयो । अहिले पानीको अभावमा दुई दिनमा एक पटक पानी वितरण गर्दै आएको इलाम नगरपालिकाको खानेपानीको समस्या समाधान गर्न आयोजना सहयोगी हुने उपभोक्ता बताउँछन् ।


2127 पटक हेरिएको 

