विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा

  विनोद धौलागिरि, विर्तामोड  2099 पटक हेरिएको

झापा : झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले नगरपालिका खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । उहाँले नगरपालिका खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराउनुभएको थियो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल र कार्यक्रमका प्रमुख अतिथि कार्कीले नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्रको प्रमाणपत्र प्रदान गर्नुभयो ।

आधाररेखा सर्वेक्षण अनुसार १७ हजार ८ सय ९४ घरधुरी रहेको विर्तामोड नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा वडा नं. १ देखि ६ सम्म (साविक विर्तामोडमा) मानव विकास केन्द्र र वडा नं. ७ देखि १० सम्म (साविक गरामनी) सहारा नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिएको हो ।

साविक विर्तामोडमा १ हजार १ सय ६५ घरधुरीमा नयाँ सुरक्षित शौचालय निर्माण गर्नुका साथै साविक गरामनीमा १ हजार ७ सय ११ नयाँ घरायसी शौचालय निर्माण भएका थिए ।

घोषणा समारोहमा नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले पूर्ण सरसफाइ प्रतिवद्धता वाचन गर्नुभएको थियो भने वडा नं. ४ का अध्यक्ष एवम् वातावरण समितिका संयोजक कुलप्रसाद संग्रौलाले सरसफाइ प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा लाखे नाच प्रदर्शन गर्नुका साथै देवी माध्यमिक विद्यालय, दुर्गा माध्यमिक विद्यालय र महेन्द्रज्योति माध्यमिक विद्यालयको तर्फबाट गीत र नृत्य प्रस्तुत गरिएको थियो । विर्तामोड मुक्ति चोकदेखि सुरु भएको बाजागाजा र -याली अग्रसेन भवनमा सभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले सरसफाइ नै समृद्धिको प्रवेश विन्दु भएकोले सरसफाइविना कुनै पनि ठाउँको विकास र समुन्नति सम्भव नहुने बताउनुभयो । “हामीले समृद्धि र रुपान्तरणको कुरा गरिरहेका छौं, तर हाम्रोजस्तो ठाउँमा अझै पनि चर्पी बनाउन र त्यसमा दिसा गर्न सिकाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले सामाजिक रुपान्तरणका लागि स्वस्थ जनता र स्वच्छ आनिवानी हुनुपर्छ, यसका लागि पूर्ण सरसफाइको यात्रालाई निरन्तरता दिनुपर्छ ।”

पहाडबाट आउने, मेची महाकाली यात्रा गर्ने र भारतबाट सिलगढीहुँदै आउनेहरुका लागि विर्तामोड पहिचायक विन्दु भएको बताउँदै दिगो सरसफाइ प्रवद्र्धनको विस्तृत योजना बनाएर लाग्न विर्तामोड नगरपालिकालाई उहाँले सुझाव दिनुभयो ।
सरसफाइ प्रवद्र्धन गर्नु र वातावरण सफा राख्नु प्रत्येक नागरिकको दायित्व भएको समेत उहाँले बताउनुभयो ।

प्रदेश सभा सदस्य एकराज कार्कीले अभियानकर्ता, सहजीकरण गर्ने निकाय, सञ्चार क्षेत्र र वडाहरुको अथक प्रयासले खुल्ला दिसामुक्त अवस्था हासिल गरेको बताउँदै पूर्ण सरसफाइ अभियानको निरन्तरताका लागि सबैसँग अपिल गर्नुभयो । विर्तामोड नगरपालिकाका रणनीतिक स्थानहरुमा सार्वजनिक शौचालय र स्नानगृह बनाउन समेत उनले नगरपालिकालाई सुझाव दिनुभयो ।
प्रदेश सभा सदस्य जसमाया गजमेरले झापा जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गरेर सामाजिक समुन्नति र समृद्धिको यात्रामा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

घोषणा समारोहमा खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, व्यक्ति र निकायहरुलाई कदरपत्र र अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

१५ स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाई, शिवसताक्षी र अर्जुनधारा नगगरपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । झापा गाउँपालिका र गौरादह नगरपालिकाका सबै घरधुरीमा चर्पी निर्माण भै अन्तिम गुणस्तर अनुगमनका लागि अनुरोध भैसककेो र दमक नगरपालिका, कचनकवल गाउँपालिका तथा मेचीनगर नगरपालिका अभियानको अन्तिम चरणमा पुगेका छन् । सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकामा सबैभन्दा बढी चर्पी बनाउन बाँकी छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार भद्रपुरमा ४ सय ६३ चर्पी बनाउन बाँकी रहेको छ भने झापा जिल्लाभरमा ७ सय ५७ घरधुरीमा चर्पी निर्माण गर्न बाँकी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार