म्याग्दी : जलजला गाउँपालिकाको मल्लाजमा खानेपानी आयोजना निर्माण भएपछि सामाजिक द्वन्द्व न्यूनीकरण भएको छ ।
पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत घर/घरमा निजी धारा मार्फत खानेपानी वितरण हुन थालेपछि समाजमा पानी उपभोगका विषयमा हुने विवाद र झगडाको समस्या हटेको हो ।
घरघरमा चौबिसैघण्टा शुद्ध खानेपानी आपूर्ति भएपछि सरसफाइ, स्थानीयवासीको दैनिकी सहज र सामाजिक द्वन्द्व कम भएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर अधिकारीले बताउनुभयो । सार्वजनिक धारामा पुगेर लाइन बस्नुपर्ने समयको बचत भएको छ । पहिले दिनहुँजसो पानीका कारणले झगडा हुने समस्या थियो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु चार करोड बढीको लगानीमा निर्माण भएको आयोजनाबाट जलजलाको २, ३ र ४ नम्बर वडाका ६ सय घरधुरी लाभान्वित भएका छन् ।
सरकारको रु तीन करोड ६६ लाख ८४ हजार अनुदान र स्थानीयवासीको रु ५७ लाख १९ हजार बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । सो आयोजनाको श्रमदानसहित रु चार करोड ६६ लाख १९ हजार ५८९ लागत अनुमान गरिएको थियो ।
विसं २०६७ मा सर्वेक्षण भई सोही वर्षदेखि निर्माण शुरु भएको आयोजना मार्फत हालसम्म ६०० घरले मिटर जडान गरेर खानेपानी उपभोग गरेका छन् । मिटर जडित निजी धारामार्फत खानेपानी वितरण भएको छ । मुख्य र शाखा पाइपलाइन विस्तारका लागि श्रमदान गरेका मल्लाजवासीले मिटर, टुटी, धाराको पाइप र जडान शुल्कबापत थप रु सात हजार ५० का दरले लगानी गरेका छन् ।
मल्लाजमा रहेका तितौरे, चौराह, प्यूसे, हम्र्पनी, पँधेरापाटे, थाम पिडाल्ना आयोजनासमेत सुधार, वितरण प्रणालीलाई व्यवस्थित र एकीकरण गरेर एक हजार घरधुरीमा खानेपानी विस्तार गर्ने समितिको लक्ष्य छ । जलजला गाउँपालिका– ५ स्थित पुम्दीको मुहानबाट प्रति सेकेण्ड दश लिटरका दरले खानेपानी आपूर्ति गराइएको छ । आयोजनाको १५ किलोमिटर ३२ मिटर मुख्य र ३३ किलोमिटर ५० मिटर शाखा पाइपलाइन निर्माण भएको छ । न्यूनतम १५ हजार लिटर पानी उपभोग गरेबापत मासिक एक सय रुपैयाँ न्यूनतम शुल्क कायम गरिएको छ ।
यसैगरी जलजला गाउँपालिकाको ३ नं वडाका २२४ घरलाई वडा कार्यालयले निजी धाराको मिटर जडानका लागि रु दुई हजार १०० का दरले अनुदान उपलब्ध गराएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारीले मोटरसाइकल खरिदका लागि विनियोजन भएको रु दुई लाख ५० हजार रकमान्तर गरेर निजी धारा जडानका लागि अनुदान उपलब्ध गराएको बताउनुभयो ।


1280 पटक हेरिएको 

