सिन्धुपाल्चोक : भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाका खानेपानी योजना मध्ये ९० प्रतिशत योजनाको काम सम्पन्न भएको छ । क्षतिग्रस्त ६९१ योजना मध्ये बाँकी दश प्रतिशत योजनाको काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिज्नल इञ्जिनियर लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो ।
क्षतिग्रस्त योजना मध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्थाका थिए । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका र नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेका छन् ।
चौतारा सागाचोक गढी नपा– ८ इर्खूको दियाले, मेलम्ची नगरपालिका अन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेको एकीकृत बस्तीको लागि खानेपानी योजना निर्माणको काम भइरहेको डिभिज्नल इञ्जिनियर उपाध्यायले जानकारी दिनुभयो ।
त्यस्तै सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गत वर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । हालको जनसङ्ख्यालाई धान्न नसक्ने भएपछि तीन मुहान थप गरी दोब्बर क्षमतामा विस्तार गरिने लक्ष्य रहेको छ । ६५ करोडको लगानीमा गरिएको सो काम थालखर्कको मुहान क्षेत्रमा अझै ३।५ किमी पाइप विछ्याउने काम बाँकी नैै छ ।
सरकारको निर्णय अनुसार जिल्ला स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय साउन १ गतेदेखि खारेजीमा परे पछि अधुरा काम अलपत्र पर्ने अवस्था आएको छ । डिभिजन कार्यालयले गर्दै आएको काम अब कुन निकायले गर्ने भन्ने टुंगो अझै लागिसकेको छैन ।


1070 पटक हेरिएको 

