काठमाडौ : तपाईले खानेपानी ल्याउने धारा वा पधेंरा घरबाट कति समयको दुरीमा छ ? यदि खानेपानी ल्याउन आधा घण्टा भन्दा बढी समय लागेमा तुरुन्त सरकारलाई सूचना दिनुहोस् । ।
सरकारले खानेपानी ल्याउन आधा घण्टा भन्दा बढी समय नलाग्ने गरी नयाँ योजना बनाइरहेको छ । यसका लागि खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने परिवार र समुदायको विवरण संकलन गर्न थालेको छ ।
खानेपानी लिन घण्टौं घण्टा समय लाग्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै देशैभरिका स्थानीय तह, खानेपानी तथा ढल निकास विभाग र मातहतका पाँचवटै क्षेत्रीय अनुगमन तथा सुपरीक्षण कार्यालय, साबिकका डिभिजन र सवडिभिजन कार्यालयहरु मार्फत सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा, सामाजिक संघसंस्थाहरुलाई खानेपानी समस्याबाट प्रभावित समुदाय तथा घरपरिवारको विवरण कार्यालय समयमा उपलब्ध गराउन अनुरोध गरेको छ ।
यसका लागि १६६००१४२१११ नम्बरमा निशुल्क फोन गर्न वा ministrywatersupply@gmail.com मा इमेल गर्न सकिने मन्त्रालयले जनाएको छ ।


1419 पटक हेरिएको 

