रसुवा : रसुवाको उत्तरगया गाउँपालिका २ डाँडागाउँका पूर्ण बहादुर गुरुङले कामको लागि गाउँ छाडेर अन्त जानु परेको छैन । हाङ हाङ बङ्से खानेपानी तथा सरसफाइ आयोजना शुरु भएपछि उहाँले गाउँमै रोजगारी पाउनुुभएको हो ।
गुरुङ मात्र होइन, आफू अनुसारको काम गाउँमै पाएपछि काम खोज्दै भौतारिने अरु युवा पनि गाउँमै अडिएका छन् । हातमा सीप हुनेले दक्ष मिस्त्रीको ज्याला पाउँछन् । हातमा सीप नहुनेहरु पनि गिट्टी कुट्ने, ढुंगा फोर्ने र विभिन्न सामान ओसार्ने काममा व्यस्त छन् । पूर्णबहादुर भन्नुहुन्छ ‘दशै आउन लाग्यो, पैसा कमाउन कहाँ जाने ? कसरी दशैंमा पैसाको जोहो गर्ने भन्ने हुन्थ्यो, तर अहिले त्यो अवस्था छैन, गाउँमै खानेपानी योजनामा काम पाएको छु, यसपालीको दशैंमा हामी गाउँमै हुन्छौं ।’ उहाँले भन्नुुभयो ।
UK Aid र ACF को आर्थिक तथा प्राविधिक सहयोग र लाङटाङ संरक्षण सरोकार समाज (ल्याकोस) को साझेदारीमा खानेपानी आयोजना बन्न थालेपछि गाउँलेले गाउँमै काम पाएका हुन् । करिब ४ करोडको लागतमा निर्माण भइरहेको खानेपानी आयोजनाबाट ४७४ घरपरिवार लाभान्वित हुने एसिएफका विभागीय प्रमुख नारायण खवासले जानकारी दिनुुभयो ।
सीप अनुसारको कामको विभाजनले काममा गुणस्तर
उपभोक्ता समितिका पदाधिकारीले सीप अनुसारको कामको विभाजन गरिदिएका छन् । कसलाई कुन काम दिदा कुशलतापूर्वक गर्छन् ? त्यसको पहिचान गरेर सीप अनुसारकै काम बाँडफाँट गरिएको हाङ हाङ बङ्से खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव डिल्ली सापकोटाले बताउनुुभयो । सीप अनुसारको कामको बाँडफाँटबाट कामको गुृणस्तर बढ्ने र सबैले रोजगारीको अवसर पनि पाउने उहाँको भनाई छ ।
गाउँमा सञ्चालित खानेपानीमै काम पाएपछि डाँडागाउँका बासिन्दा यसपाली काम खोज्न अन्त नजाने निश्चित भएको छ । अघिपछि दशैका लागि रकमको जोहो गर्न गाउँ छाड्ने युवा, गाउँमै अडिएपछि यसपालीको दशैं समेत रमाइलो होला भन्नेछ डाँडागाउँकी मनिका सुवेदीलाई ।
खानेपानी योजना सञ्चालन भएपछि डाँडागाउँको विकास हुुने भएको छ । योजना सम्पन्न भएपछि घर आँगनमै खानेपानी उपलब्ध हुनेछ । खानेपानीले गाउँमै रोजगारी पनि दिलाएको छ । डाँडागाउँका बासिन्दाका लागि, भएन त ? दुवै हातमा लडडु


3422 पटक हेरिएको 

