रामेछाप : सधै खानेपानीको अभाव झेलिरहनुपरेको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका बासिन्दामा यतिबेला खुशी छाएको छ । पानीको समस्याले आजित भइसकेका बासिन्दा घर घरमै पानी पुुगेपछि यतिबेला फुरुङ्ग भएका छन ।
नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भए पछि उनीहरूमा यतिबेला खुशी छाएको हो ।
गाउँमा पानीको समस्याले दिक्क बनेका स्थानीयहरूले खानेपानी योजना संचालन गर्न प्रति घर १० हजारका दरले १ सय ५० घरले रकम संकलन गरेर योजना संचालन गर्न खोज्दा बजेटका कारण नसकिएको स्थानीय कृष्ण बहादुर तामाङले बताउनुभयो ।
पैसा उठाएर पनि योजना संचालन गर्न नसकिरहेका अवस्थामा नै भूकम्प आएर विचलित बनाएका उनीहरुलाई भूकम्प पश्चात नेपाल रेडक्रस सोसाइटीको साथ पाएपछि समस्या समाधान भएको हो ।
रेडक्रसको आर्थिक सहयोगमा गाउँमा लिफ्ट खानेपानी योजना संचालन भए पछि पीडा बिर्साउने खुशी गाउँमा छाएको कृष्ण बहादुरले बताउनुभयो । सुख्खाग्रस्त गाउँ भएका कारण यहाँ पानीको सहज आपूर्ति गर्न समस्या थियो । वर्षातका २/३ महिना बाहेकको बाँकी समय पानीका लागि करिव ३ घण्टा हिड्नु पर्ने बाध्यता रहेको रामदाश वाइवाले बताउनुभयो ।
रेडक्रसले भूकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा संचालित लिफ्ट प्रणालीको आइतबारे खानेपानी योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
योजना संचालनका लागि रेडक्रसको ७२ लाख ६६ हजार ४ सय २१, साविकको रामपुर गाविसको ९ लाख, समुदायको २१ लाख ३५ हजार ७ सय ६५ र समुदायको श्रमदान १६ लाख ८६ हजार ८ सय ६८ गरी कूल १ करोड १९ लाख ८९ हजार ५४ रुपैयाँ लागत लागेको रेडक्रस रामेछापले जनाएको छ ।
योजनाबाट रामपुरका १ सय ५९ घर धुरीका १ हजार १ सय २३ जनसंख्या लाभान्वित भएका छन् ।


2524 पटक हेरिएको 

