जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका ३, चाउलेचौर र सानावनमा खानेपानी अभाव भएको छ । गाउँमा खानेपानीको आपूर्ति नहुँदा स्थानीय बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य छन् ।
गत साउनमा आएको बाढीेपहिरोले खानेपानीको मुहान, टंकी र पाइप बगाएपछि गाउँमा खानेपानीको हाहाकार भएको हो ।
बाढीपहिरोले गाउँमा वर्षौंदेखि आपूर्ति हुँदै आएको खानेपानी योजना बगाउँदा स्थानीय शुद्ध पानीबाट वञ्चित भएका हुन् । बाढीले ठूलामूल खानेपानी, नयाँ खोली खानेपानी, बगरछाना खानेपानी, नहकुली सिँचाइ तथा खानेपानीलगायत आठ योजनामा क्षति पुर्याएको छ ।
स्थानीय बासिन्दा र बालबालिका आकासे तथा खोलाको दूषित पानी पिउन बाध्य भएको स्थानीय हर्कबहादुर विष्टले बताउनुभयो । ३१ वर्षअघि निर्माण भएका खानेपानी योजना बाढीले बगाएपछि पानीको अति दुःख भएको उहाँले बताउनुभयो ।
खानेपानीको आपूर्ति बन्द भएपछि चाउलेचौरस्थित नेपाल राष्ट्रिय प्राथमिक र लालीगुराँस प्राथमिक विद्यालयका दुई सय बालबालिकाले आकासे तथा खोलाको पानी पिउने गरेका छन् । चाउलेचौर, भदाले र सानावनका दुई सय घरपरिवार एक महिनादेखि गाउँ नजिकै बग्ने खोलाको दूषित पानी पिउन बाध्य छन् ।
खानेपानी आपूर्ति बन्द भएपछि आकासे पानी संकलन गरेर उपभोग गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पशु चौपायालाई समेत पानी खुवाउन समस्या भएको छ । आकाशबाट पानी नपर्दा र खोला सुक्दै जाँदा सास्ती भएको नलगाड ३ का मृर्षीबहादुर पुनले बताउनुभयो ।
‘परिवारमा एक जनाको काम दैनिक पानी ओसार्ने हुन थालेको छ,’ उहाँले भन्नुभयो, ‘बालबालिका पढाइ छाडेर पानी ओसार्न व्यस्त हुन थालेका छन् ।’ उहाँका अनुसार खानेपानी अभावमा दैनिक सरसफाइ, चर्पी प्रयोगलगायत काममा बाधा भएको छ । शुद्ध पानी नपाउँदा गाउँ आएका आगन्तुक बास नबसेरै फर्कने गरेको उनको भनाइ छ ।
पानी अभावमा स्थानीयले खोला खोल्सा, जंगललगायत क्षेत्रमा खुला शौच गर्ने गरेका छन् जसका कारण झाडापखाला, आउँलगायत रोगको प्रकोप फैलिने जोखिम बढेको छ । नलगाड नगरपालिका र जिल्ला खानेपानी कार्यालयमा शुद्ध पानी आपूर्तिको तत्काल व्यवस्था गर्न माग गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
कान्तिपुरबाट


1227 पटक हेरिएको 

