कपिलवस्तु : बुद्धभूमि नगरपालिका १० देवपुराकी ७० वर्षीया मुरली केवटले ४ दिनदेखि नुहाउनु भएको छैन । ‘जीउ चिलाएर खपी नसक्नु भयो,’ उहाँले भन्नुुभयो ‘अब के गर्ने, कता जाने तनावमा छु ।’ उहाँ जस्तै लौहरौलाका गोरख केवटका बस्तुभाउ पनि प्यासमै छन् ।
‘आफूलाई पिउन पानी छैन, बस्तुलाई कहाँबाट ल्याऊँ पानी ? पानी नपाएर गाईभैंसी दिनभर कराउछन्’ उहाँले भन्नुुभयो ।
पिपरहवास्थित तिलौराकोट अर्थात सोनी इँटा उद्योग छेउमा डिप बोरिङ सञ्चालन गरिएपछि स्थानीय ३ गाउँका १ सय घर प्रभावित भएका हुन् । ५ सय फिट तल गाडिएको बोरिङ सञ्चालन गर्नासाथ छेउछाउका देवपुरा, लौहरौला र सकुम्बासी बस्तीका ट्युवबेल सुकेका हुन् ।
स्थानीयले ३ सय फुटभन्दा गहिराइमा गाडेका नल्का पूर्णरुपमा सुकेका छन् । कम गहिराइ भएका दुई तीन नल्कामा भने थोरै पानी आउँछ । त्यसबाट एक घण्टामा मुस्किलले एक बाल्टिन भरिन्छ ।
माथिल्लो भागमा पाइने पानीको सतह धेरै शक्ति भएको मोटरबाट तानिएपछि छेउछाउका चापाकल सुक्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख युद्धप्रसाद गुप्ताले बताउनुुभयो । समस्या समाधानका लागि त्यहाँ गाडिएको डिप बोरिङ थोरै समय मात्र चलाउन सकिने उहाँले बताउनुुभयो ।
गाउँलेले बुद्धभूमि नगरपालिकालाई समस्याबारे जानकारी गराए पनि सुनुवाइ नगरेको बताए । इँटा उद्योगका सञ्चालक महबुव मियाले बोरिङले समस्या नपारेको दाबी गरे । कृषकको उपभोक्ता समूह बनाएर आफूले उद्योगका लागि बोरिङ गाडेको उहाँले बताउनुुभयो ।


1548 पटक हेरिएको 

