रुकुम, पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा खानेपानीको माग गर्दै तालाबन्दी गरिएको छ । वडा नं २ बेतखोलाका स्थानीयबासिन्दाले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
विक्रम सम्बत २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयबासिन्दाले आन्दोलन गर्दै आएका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयबासिन्दाले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गर्दै आएका थिए । गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताउनुभयो ।
लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा समेत खानेपानीको माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाइ छ । गाउँपालिकाले हिजो भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।
तर स्थानीयले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्म आन्दोलन फिर्ता नहुने अडान लिँदै आएको छ । वडा नं २ कै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयबासिन्दाले बताएका छन् ।


1125 पटक हेरिएको 

