भक्तपुर : सूर्यविनायक नगरपालिका–१ बिरुवाका ४५० घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य साथ निर्माण हुन लागेको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ ।
सिम बिरुवा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सिम बिरुवा खानेपानी आयोजनाको आज विरुवामा सांसद महेश बस्नेत, प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेतले सरकारलाई बदनाम गराउने तत्व सक्रिय भएको आरोप लगाउँदै विभिन्न बाहनामा भ्रम फैलाउने योजनाबद्ध रुपमा अभियान नै चलाइएको छ भन्नुभयो । यस्ता तत्वलाई चिरेर सरकार अगाडि बढ्ने बताउँदै बस्नेतले भन्नुभयो, “अहिले देशमा दुई तिहाइको सरकार छ, यसलाई अहिले सदुपयोग गर्न नसके देश अझै पछाडि धकेलिन्छ, अहिलेको अवसरलाई गुमाउनु हुँदैन ।”

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले केन्द्र, प्रदेश र स्थानीय सरकारले एकैसाथ विकास गर्ने भएकाले अब विकास रोकिने सम्भावना छैन भन्नुभयो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द चौलागाईले दुई लाख ५० हजार लिटर पानी अट्ने क्षमताको उक्त ट्याङ्की प्रदेश सरकारको रु तीन करोड बजेटमा निर्माण हुन लागेको बताउनुभयो ।
डिप बोरिङ सम्पन्न भएर पानी आइसकेकाकाले जतिसक्दो छिटो ट्याङ्की निर्माण गरेर शुद्ध पानी वितरण शुरु गरिने उहाँले बताउनुभयो । रासस


1479 पटक हेरिएको 

