नौ बर्ष अघि काटिएको पाइप बल्ल जोडियो, गाउँपालिकामा लगाएको ताला खुल्यो

रुकुम पश्चिम : त्रिवेणी गाउँपालिका २ मा चिन्छरेबासीले नौ बर्ष अघि काटेको पाइप बल्ल जोडिएको छ । चिन्छरेका बासिन्दाले २०७४ साल माघमा बेतखोला गाउँमा आउने पानीको पाइप काटिदिएका थिए । बेतखोलाबासी र चिन्छरेबासी बीचको विवाद हल भएपछि बेतखोलामा काटिएको खानेपानीको पाइप जोडिएको हो ।

बिहीबार बिहानदेखि बेतखोलामा कागढाले मुहानको पानी आउन सुरु गरेको छ । चिन्छरेबासीले खानेपानीको पाइप काटिदिएपछि बेतखोलाबासी गाउँभन्दा तल रहेको मुलाखोला मुहानको पानी बोकेर खान बाध्य थिए । त्रिवेणी गाउँपालिकाको रोहबरमा भएको छलफलमा दुवै गाउँले बीच पाँचबुँदे सहमति भएको छ ।

के के छन् ? पाँच बुँदे सहमतिमा ?

कागढाले मुहानको पानी बेतखोलाबासीलाई छाडिदिने,

बेतखोलाबासीले जफत गरेको पाइप चिन्छरेबासीलाई फिर्ता दिने,

मुलाखोला मुहानको पानी बेतखोलाबासीले ६० र चिन्छरेबासीले ४० प्रतिशत उपयोग गर्ने

लिफ्टमार्फत बेतखोलाबासीले मुलाखोला मुहानको पानी लिन पाउने

र लसुनेखोला मुहानको पानी पनि बेतखोलाबासीले आवश्यकता अनुसार लैजान पाउने

गाउँपालिकामा लगाएको ताला खुल्यो

बेतखोलामा पानी आएपछि गाउँपालिकामा लगाएको ताला पनि खोलिदिएका छन् । स्थानीयले वडा कार्यालय र गाउँपालिका कार्यालय घेराउ, अनसन तथा तालाबन्दीसम्मको कार्यक्रम गरेका थिए । बेतखोलामा काटिएको खानेपानी जडान गर्न आग्रह गर्दै बादरपानी खानेपानी योजनालाई चिठी लेखेका २ नम्बर वडा अध्यक्ष शोभाराम बोहरामाथि चिन्छरेबासीले हातपात समेत गरेका थिए ।

गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएपछि मात्रै चिन्छरेबासी सहमतिमा आएको बेतखोलाका प्रेम बोहराले बताउनुुभयो । बेतखोलाबासीले २०३९ सालदेखि नै उक्त आयोजनाको पानी उपयोग गर्दै आएका थिए ।

गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले लामो समयदेखि दुई गाउँबीच देखिएको विवाद समाधान भएको बताउनुुभयो । दुवै गाउँलाई फाइदा हुने गरी विवाद निरुपण भएको अध्यक्ष घर्तीले बताउनुुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार