अर्थमन्त्रीको गृहनगर बन्यो झापाको दशौं खुल्ला दिसामुक्त क्षेत्र

  विनोद धौलागिरि/गौरादह  1652 पटक हेरिएको

झापा : भी.भी.आई.पी.हरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दशौं स्थानीय तहको रुपमा आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिला मन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो ।

१२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको हो । अभियानअघि ७ हजार ७ सय ५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा ४ हजार ३ सय ९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

गौरादहमा सरसफाइ अभियान सुस्त भएपछि सञ्चार क्षेत्रले निरन्तर खवरदारी गरिरहेको थियो भने वासखवरले समेत गौरादहको सरसफाइको अवस्थाको बारेमा निरन्तर समाचार तथा तस्वीर प्रकाशन गरिरहेको थियो ।

खुल्ला दिसामुक्त घोषणा समारोहमा नगर प्रमुख रोहितकुमार साहले पूर्ण सरसफाइ प्रवद्र्धन प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका उपाध्यक्ष मीना पराजुलीले जिल्ला

लाई खुल्ला दिसामुक्त घोषणा गरी यसै महिनादेखि पूर्ण ससफाइ अभियान अघि बढाइने बताउनुभयो ।

“विशिष्टहरुको नगरपालिकाको रुपमा चिनिएको गौरादह दशौं स्थानीय तहको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको छ”, उहाँले भन्नुभयो “पूर्ण सरसफाइ प्रवद्र्धनमा गौरादह अन्य स्थानीय तहका लागि नमूना बन्न सक्नुपर्छ ।”

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका संयोजक विनोद शर्माले सञ्चार क्षेत्र, राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय अगुवाको सक्रियता र निरन्तरको सहजीकरणका कारण नै गौरादह खुल्ला दिसामुक्त अवस्था हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो । “समयमा नै निरन्तर सहजीकरण हुन नसक्दा झापा जिल्ला खुल्ला दिसामुक्त अभियानमा पछि पर्नुप-यो”, उहाँको भनाइ थियो, “समग्र सामाजिक रुपान्तरणका लागि नगरपालिकाले आमपरिचालन र आमसहभागितामा जोड दिनुपर्छ ।”

पूर्ण सरसफाइ रणनीतिक योजना र वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी पूर्ण सरसफाइ अभियान योजनावद्ध रुपमा तुरुन्त सुरु गर्न समेन नगरपालिकालाई उहाँले सुझाउनुभयो ।

कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रतिनिधि रुद्रबहादुर न्यौपाने, नेकपाका मदन अधिकारी, नेपाली काँग्रेसका कृष्णभक्ता सिटौला, वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारी लगायतले सरसफाइका विविध आयामबारे चर्चा गर्नुभएको थियो ।

खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था, निकाय र अभियानकर्ताका साथै आफ्नै लगानीमा सुरक्षित चर्पी बनाउने घरधुरीहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।

१५ स्थानीय तह रहेको झापा जिल्लामा खुल्ला दिसामुक्त घोषणा गर्ने गौरादह दशौं स्थानीय तह हो । दमक यही असोज २२ गते र कचनकवल असोज २४ गते खुल्ला दिसामुक्त घोषणा हुँदैछन् । जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्नका लागि हल्दिबारी गाउँपालिका तथा भद्रपुर र मेचीनगर नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार