काठमाडौ : खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त भएको खानेपानी सम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ ।
मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बुधबार बसेको बैठकले मन्त्रालयका सिनियर डिभिजनल ईन्जिनियर रामकुमार श्रेष्ठ, अर्थशास्त्री कमलकान्त पौडेल, ईन्जिनियर सुष्मा काफ्ले र मन्त्रालयको सचिवालयको तर्फबाट प्रेस संयोजक शुकदेव चापागाई, सुन्दर चौधरी र ईन्द्रसिंह बुडाल सम्मिलित कार्यदल गठन गरेको हो ।

कार्यदललाई मन्त्रालयमा आएका खानेपानी र सरसफाइ सम्बन्धी समस्या तथा गुनासाहरुलाई वर्गीकरण गरी समस्याको समाधान गर्न मन्त्रालयसँग सम्बन्धित निकायहरुलाई ताकेता गर्ने जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टा (३० मिनेट) भन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासाहरु माग गरेको थियो । सोही सूचनाको आधारमा हजारौं समस्या तथा मागहरु मन्त्रालयले संकलन गरी राखेको छ ।
खानेपानी मन्त्री बिना मगरको सक्रियतामा मन्त्रालयले खानेपानी सम्बन्धी गुनासो एवं समस्याहरु माग गरेको थियो । प्राप्त मागहरुको म्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजना सहित कार्य अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ ।


6082 पटक हेरिएको 

