भूकम्पले भत्काएको खानेपानी आयोजना निर्माण

रसुवा : रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा भूकम्पले भत्किएको खानेपानी आयोजनाको निर्माण गरिएको छ । २६ घरपरिवारले उपभोग गर्दै आएको खानेपानी आयोजना निर्माण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा सिस्नेरी मुहान, गुम्बा डाँडा तथा मुख्य टोल खानेपानी आयोजना निर्माण गरिएको हो ।

यस्तो छ संरचना

खानेपानी आयोजना अन्र्तगत १७ वटा धारा निर्माण गरिएको रेडक्रस जिल्ला शाखाले जनाएको छ । सो खानेपानी आयोजना अन्तर्गत ७ घनमिटर क्षमताको १ वटा टयाङ्की निर्माण गरिएको छ ।

१ हजार ४ सय १८ ट्रान्समिसन लाइन र १ हजार ६ सय ९९ मिटर वितरण लाइन रहेको शाखाका सभापति बाबुलाल तामाङले बताउनुभयो । रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समिति मार्फत खानेपानी योजना निर्माण गरिएको अध्यक्ष चन्द्र बहादुर ग्लानले बताउनुभयो ।


रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा निर्माण गरिएको खानेपानी आयोजना ।

सो खानेपानी आयोजना २०७४ फागु्न १० गतेबाट निर्माण सुरु भएको थियो । नवनिर्मित खानेपानी आयोजना उपभोक्ता तथा समुदायलाई सभापति बाबुलाल तामाङले हस्तान्तरण गर्नुभयो । भूकम्प प्रतिकार्य कार्यक्रमको खानेपानी, सरसफाइ तथा स्वच्छता गतिविधि अन्तर्गत खानेपानी आयोजना निर्माण गरिएको कार्यक्रम संयोजक मधुसुदन थापाले जानकारी दिनुभयो ।

रेडक्रसले १४ लाख ११ हजार ५ सय ८७ र समुदायको २ लाख ८ हजार २ सय ३६ रुपयाँ खर्च गरेर खानेपानी योजना निर्माण गरिएको हो । खानेपानी आयोजनाबाट प्रत्यक्ष रुपमा १६७ जना ब्यक्तिहरु लाभान्वित भएका छन् ।

६ वटा आयोजना सम्पन्न

रेडक्रसको खानेपानी, सरसफाइ तथा स्वच्छता गतिविधि अन्तर्गत अहिलेसम्म ६ वटा खानेपानी आयोजना गत आर्थिक वर्षमा निर्माण गरिएको छ । निर्माण गरिएको आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

भूकम्प पीडित समुदायहरुलई स्वच्छ खानेपानी आयोजना उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागु भएको साविकका गाविसहरूमा रेडक्रसले खानेपानी आयोजना निर्माण गरेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार