मेलम्ची खानेपानी : ‘तिहार लगत्तै काम सकिने’

काठमाडौ : यो दशैँसम्ममा काठमाण्डूमा पानी पुर्‍याउने दावी गरिए पनि मेलम्ची खानेपानी आयोजनाको काम सकिन अझै एक महिनाभन्दा बढी लाग्ने अधिकारीहरूले बताएका छन्।

सुरुङभित्रको ढलानको काममा पछिल्लो तीन महिनामा उल्लेख्य प्रगति भएको भन्दै दशैँको सट्टा अब तिहार लगत्तै पूरा हुने अधिकारीहरूको भनाइ छ।

जानकारहरूले चाहिँ प्राविधिक समस्या नभए पनि ठेकेदार र आयोजनाबीचको आर्थिक समस्या सुल्झाउन नसकेमा व्यवस्थापकीय समस्या उत्पन्न हुन सक्ने बताएका छन्।

आयोजना अधिकारीहरुका अनुसार मेलम्ची खानेपानी आयोजनाको काम अहिले ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

लक्ष्य

सम्झौता गरेभन्दा धेरै काम गर्नुपरेको भन्दै डेढ अर्ब रुपैयाँभन्दा बढी रकम दावी गरेर काम अवरुद्ध गरेको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको विवादमा सहमति भएपछि पछिल्लो तीन महिनामा द्रुत गतिमा काम भएको अधिकारीहरू बताउँछन्।

अब कुनै अवरोध नभए तिहारपछि पानी ल्याउने लक्ष्य राखिएको आयोजनाका प्रमुख सुर्यप्रकाश कंडेलले बताए।

 


  • ‘दशैँअघि मेलम्ची पूरा हुने सम्भावना न्यून’
  • मेलम्चीः १० प्रतिशत पाइप बिछ्याउन बाँकी

उनले भने, “नयाँ वर्षसम्म त हामी निश्चित रूपमा पानी ल्याइसक्छौँ। तर अहिले हाम्रो लक्ष्य भने नोभेम्बरको अन्तिम सातामा सुरुङको काम सकाउने र त्यसपछि कुनै समस्या भोग्नुपरेन भने तुरुन्तै पानी पठाइसक्छौँ।”

१७ वर्षदेखि निर्माण थालिएको उक्त खानेपानी आयोजनाको मेलम्चीदेखि सुन्दरीजलसम्मको साढे २७ किमी सुरुङ खन्ने काम सकेर अहिले सुरुङभित्रको ढलानको काम चलिरहेको छ।

६ स्थानबाट ढलानको काम भइरहेको र दशैँपछि ७ किलोमिटर ढलान बाँकी रहने आयोजना प्रमुख कंडेलले बताए।

 

विवाद

तर एक पूर्वप्रशासकले ठेकेदार कम्पनीलाई तिर्नुपर्ने रकमको विषय निष्कर्षमा पुगिनसकेको अवस्था रहेकोले त्यो नसुल्झिए काममा अवरोध आउन सक्ने बताएका छन्।

ठेकेदार कम्पनीले राखेको माग अहिले स्वतन्त्र समितिका रूपमा गठित ‘डिस्प्युट बोर्ड’मा विचाराधीन छ।

सकियो मेलम्चीको सुरुङ काम

खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायले भने, “काम चाहिँ रोक्नुभएन। आखिर ठेकेदार कम्पनीले पाउने रकम पाइहाल्छ। पाएन भने अदालत गइहाल्छ।”

मेलम्चीको पानी सुन्दरीजलमा झरे पनि काठमाण्डूवासीका घर-घरमा पुग्नका निम्ति पानी प्रशोधन र पाइपलाइन बिछ्याउने काम पनि तीव्र गतिमा भइरहेको बताइएको छ।

BBC बाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार