खानेपानीले छायो खुसियाली, २ सय ५० घरमा धारा

लम्जुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ६ ठुलिबेंसीकी ८५ बर्षीया जकमाया अधिकारीले घरकै आँगनमा पानीको धारा आउँला भन्ने यसअघि सोच्नु भएकै थिएन ।

डोकोमा गाग्री बोकेर घण्टौं हिँडेर पानी ल्याउनुहुन्थ्यो । तर अहिले आफ्नै घर आँगनमा खानेपानीको धारा खसेको देखेपछि उहाँको अनुहारमा छुट्टै खुसी छाएको छ ।

पानीले आफ्नो जीवनमा खुसी ल्याएको उहाँले बताउनुभयो । ‘बिहानै पाँच बजे उठ्यो । डोकोमा गाग्री राख्यो । हिड्यो पानी बोक्न । घर आउँदा घाम झुल्किसकेको हुन्थ्यो । अहिले त, आँगनमै धारा छ । छिनभरमै पानी छुन सकिने । कामकाज चलाउन सकिने । मैले सोचेको पनि थिएन यस्तो हुन्छ भनेर’ चाउरिएको अनुहारमा मुस्कान छाड्दै जकमायाले भन्नुभयो ।

जकमाया मात्र होइन बर्षौदेखि खोला र कुवाको पानीको भरमा जीवन चलाउँदै आएका ठुलीबेंसीको घरघरमा पानीको धारा बनेपछि उनीहरु निक्कै हर्षित छन् । ७५ बर्षीया गन्धर्की थापाले घरको आँगनमै रहेको पानीको धाराले गर्दा मनमा शान्ति मिलेको बताउनुभयो ।

‘पानीकै लागि कत्ति दुःख गरियो । भनेर साध्य छैन । काखे बच्चा छाडेर पनि पानी लिन गइयो । घण्टौंसम्म पालो कुर्नुपर्ने । अहिले हाम्रा सबै दुःख गयो । घरमै धारा आएको छ । पानीको धारा आएसँगै मनमा सन्तोष भएको छ’ उहाँले भन्नुभयो ।

घरघरमै पानीको व्यवस्था भएपछि स्कुले विद्यार्थीहरुमा पनि उत्तिकै खुसी छाएको छ । उनीहरु दैनिक सरसफाइ गर्ने र विद्यालय जाने गरेका छन् । पढाईको शिलशिलामा बेंसीसहरमा बसेपनि घर आउँदा आँगनमै रहेको धाराले आनन्द तुल्याउने गरेको प्रदिप थापाले बताउनुभयो ।

खानेपानी नहुँदा धेरैजसोले व्यक्तिगत सरसफाइमा ध्यान सकेको थिएन । ‘गाउँका घरैपिच्छे धारा छ । महिलाहरुले घरदेखि आफ्नो सरसफाइमा ध्यान दिएका छन् । बच्चा र बुढाबुढी पनि साबुनपानीले हात धुने गर्छन् ।

पानीले गर्दा यो सब परिवर्तन भएको हो’ उहाँले भन्नुभयो । उहाँका अनुसार कुवा तथा खोलाको फोहोर पानीका कारण गाउँका अधिकांशलाई गलगाँड आउने, झाडापखाला, रुघाखोकी जस्ता विभिन्न प्रकारका रोग लाग्ने गरेको थियो । अहिले यस्तो समस्या नरहेको उहाँले बताउनुभयो ।

२ सय ५० घरमा धारा जडान, एक सय २० घरमा जडान गरिदै

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङको १ करोड ९० लाख रुपियाँ बजेटमा साविकको बाहुनडाँडा, हाल मस्र्याङ्दी गाउँपालिका ६ का सबै गाउँका घरघरमै पाँच बर्षभित्र धारा पु-याउने योजना रहेको थियो । चार बर्ष देखि काम सुरु भएको उक्त ठाउँका अधिकांश गाउँमा पानीको धारा पुगेको डहरेखोला खानेपानी आयोजनाका अध्यक्ष केशबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार वडाभित्र रहेका डहरे, बाहुनडाँडा, दिङदिङ, लाम्पाटा, ठुलीबेंसीका सबै घरको आँगनमा धारा जडान गरिएको छ । भीरपुस्तुन र नाइँचेमा काम भइरहेको छ । अधिकांश गाउँमा पानीको धारा जडान भैसकेको छ ।

आयोजनाका सचिव विष्ण्ुाराज घिमिरेका अनुसार थाल्जुङ, ओख्नेरी, डौडरे र कालढुंगाको मूलबाट पानी ल्याइएको छ । बाहुनडाँडाको देउचेडाँडा मैढुंगामा ५० हजार लिटरको दुईवटा ट्याङ्की राखिएको छ । लाम्पाटामा तीन हजार लिटरको एउटा र ठुलीबेंसीमा पाँच हजार लिटरको एउटा ट्याङ्की राखिएको छ ।

ट्याङ्कीबाट घरसम्म पानी ल्याउनका लागि स्थानीय आफैले श्रमदान गरेका छन् । अहिले दुईसय पचास घरमा धारा जडान गरिएको छ । अब एक सय २० घरमा पानी पु-याउन बाँकी रहेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लमजुङका डिभिजन इन्जिनियर जगरनाथ दासले एक घर, एक धारा योजनाको काम भइरहेको बताउनुभयो । सबै गाउँको सबै घरको आँगनमा खानेपानीको धारा पु¥याउने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

‘सबैको घरमा धारा जडान गरिएको छ । पानीका लागि टाढा जान नपर्ने भएपछि उनीहरुमा खुसी छाएको छ । सुविधा पनि पुगेको छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार बाँकी रहेका योजना भने प्रदेश सरकारको सहयोगमा सञ्चालन हुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार