काठमाडौं : मेलम्ची खानेपानी आयोजनाका गाडीहरु असम्बन्धित कार्यालय तथा अधिकारीले प्रयोग गर्ने गरेको खबर विभिन्न सञ्चार माध्यममा प्रकाशन भएपछि मेलम्चीको गाडी फिर्ता गर्न खानेपानी मन्त्री बीना मगरले तदारुकता देखाउनुभएको छ ।
उहाँले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाक गाडीहरु तत्काल फिर्ता गराउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएको हो ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी लगिएका थिए । जसमा एउटा गाडी प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ ।
बा १ झ ८७५९ नं. को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रालय लगिएको हो । त्यस्तै बा १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीप समेत प्रधानमन्त्री कार्यालयमा रहेको छ ।
मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरु मध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु मात्र प्रयोग भएको समितिले जनाएको छ ।
समितिका अनुसार बा ८ च ६७६० नं. को टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा रहेको छ । मन्त्रालयले उक्त गाडी २०६२ साल चैतदेखि प्रयोग गरिरहेको छ । अहिले टोयोटा ल्याण्डक्रुजर जीपमा हालै प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव दीपेन्द्रनाथ शर्मा चढ्ने गर्नुभएको छ ।
यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणले मेलम्ची आयोजनाको बा १ झ ८७६३ नं. को प्राडो जीप प्रयोग गरिरहेको छ । प्राधिकरणले २०७० साल जेठ देखि उक्त गाडी प्रयोग गरिरहेको छ ।
त्यस्तै सहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं. को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।
खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भईरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
मेलम्चीका ६० वटा गाडीमा को – को हुँइकिन्छन् त ? हेर्नुहोस् पूरा विवरण :
विवरण १ : https://washkhabar.com/np/wp-content/uploads/2018/11/photo-1.pdf
विवरण २ : https://washkhabar.com/np/wp-content/uploads/2018/11/photo-2.pdf


1172 पटक हेरिएको 

