खानेपानीका लागि गाग्री ठटाउँदै देउसी भैलो

प्यूठान : शिक्षकलाई तलब खुवाउन, चौतारो बनाउन, अक्षय कोष स्थापना गर्न, संस्थाको कोष अभिबृद्धि गर्न लगायत सामाजिक कामका लागि देउसी भैलो खेलेको त तपाई हामीले सुन्दै र देख्दै आएका छौं । तर प्युठानमा भने खानेपानीका लागि देउसी भैलो खेलिएको छ । मल्लरानी गाउँपालिका ३ को चौरपानी गाउँका बासिन्दाले रित्ता गाग्री बजाउँदै देउसीभैलो खेलेका छन् ।

गाउँमा झिमरुक खोलाको पानी ल्याउने योजना अगाडि सार्दै उनीहरूले रित्तो गाग्री बजाउँदै देउसीभैलो भट्याएका छन् । मादलको साटो रित्ता गाग्री बजाउँदै देउसीभैलो खेल्नुपर्दा दुःख लागेको स्थानीय ओमप्रकाश पाण्डेले बताउनुभयो ।

चौरपानी खानेपानी फाउन्डेसन स्थापना गरी झिमरुक नदीको पानी बस्तीसम्म ल्याउन स्थानीय कस्सिएका हुन् । ‘चाडपर्वमा पानी झन् धेरै चाहिने रहेछ,’ फाउन्डेसनका अध्यक्ष युवराज पौडेलले भन्नुभयोे, ‘पानी नभएको अनुभूति दसैं र तिहार मनाउन घरमा आएका सबैले गरे ।’ रित्ता गाग्री ठटाएर देउसीभैलो खेल्ने कार्यक्रममा स्थानीय महिला र पुरुष सबैले साथ दिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

झन्डै ३ सय घरपरिवार बसोवास गर्ने गाउँलेले धेरै वर्ष तल्लो धारा, भकुन्डे पँधेरा र उपल्लो पँधेरामा पानी भर्थे । पछि पँधेरामा पानी सुक्दै गयो । गाउँलेले खानेपानी आयोजनाको माग गरे । धरमपानीबाट ०४२ सालमा खानेपानी ल्याइयो । गाउँमा ३५ धारा बनाइएको थियो । धरमपानीबाट ल्याइएको आयोजनामा पनि दुई महिनादेखि पानी आएको छैन ।

गाउँको मुख्य समस्या खानेपानी भए पनि स्थानीय सरकारले सडकमा ध्यान दिँदा गाउँले बेखुसी रहेको स्थानीय सिर्जना पोख्रेलले बताउनुभयो । सरकारी बजेट आउला र खानेपानीको सुविधा होला भन्ने आस मरेकाले देउसीभैलो खेलेर पानी ल्याउन स्थानीय कस्सिएको उहाँले बताउनुभयो ।

मुहानमाथिबाट सडक खनेपछि मुहान सुकेको स्थानीय कृष्णराज पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार देउसीभैलोबाट ५० हजार रुपैयाँ संकलन भएको छ । पानीको दुःख भएकाले स्थानीयले देउसीभैलो टोलीलाई राम्रो सहयोग गरेको पाण्डेले बताउनुभयो ।

गाउँमा पानी ल्याउनका लागि देउसीभैलो खेलेको खबरले विदेशमा बस्ने चौरपानीबासीले यसभन्दा धेरै रकम जम्मा गरेर पठाउने तयारी गरेको उहाँले बताउनुभयो । तिहार सकिएपनि खानेपानीका लागि भएकाले देउसीभैलो अझै दुई दिन खेलिने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार