महोत्तरी : महोत्तरी जिल्लालाई आगामी पुस १० गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । महोत्तरीको जलेश्वरमा आज बसेको विस्तारित बैठकले पुसको पहिलो सातासम्ममा सबै स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरी पुस १० गते जिल्लालाई नै घोषणा गर्ने निर्णय गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
बैठकले पुसको १० गते जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेपनि अझै ११ वटा स्थानीय तह खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । १५ स्थानीय तह मध्ये ४ स्थानीय तह मात्र खुला दिसामुक्त घोषणा भइसकेको छ ।
बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले चर्पी नबनाउने घरलाई कार्वाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुरक्षा निकायले पनि खुला दिसामुक्त अभियान सफल बनाउन चर्पी निर्माण र अनुगमनमा साथ दिन प्रतिबद्धता जनाएका छन् ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेश प्रसाद सिं ले सबै स्थानीय तहका प्रमुखहरुलाई चाँडो भन्दा चाँडो खुला दिसामुक्त घोषणा गर्न आग्रह गर्नुभयो ।


783 पटक हेरिएको 

