कास्की : पोखरा महानगरपालिकाको वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थालाई स्यानिटरी प्याडयुक्त घोषणा गरिएको छ । वडाको शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नं. ५ का सबै शैक्षिक संस्थालाई पहिलो पटक स्यानिटरी प्याडयुक्त घोषणा गरिएको हो ।
स्यानिटरी प्याडयुक्त वडा घोषणा कार्यक्रममा वडा नं ५ का सदस्य एवं सामाजिक अभियन्ता अञ्जु केसीले वडा नं ५ स्यानिटरी प्याडयुक्त गर्ने पहिलो वडा भएको बताउनुभयो । उहाँले सबै वडामा स्वास्थ्य र सरसफाइको अभियान चलाएर किशोरीलाई प्रजनन स्वास्थ्यको बारेमा सुसूचित गराउने बताउनुभयो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीले अबदेखि वडा नं ५ का सम्पूर्ण विद्यालय सेनिटरी प्याडयुक्त घोषणा भएकोले त्यसलाई व्यवहारमा उतार्न प्रतिबद्धता जनाएका छन् ।
महानगरका सबै शैक्षिक संस्था स्यानिटरी प्याडयुक्त बनाईने
पोखरा महानगरपालिकाले महानगरका सबै शैक्षिक संस्थालाई समेत स्यानिटरी प्याडयुक्त बनाउने भएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक संस्थालाई स्यानिटरी प्याडयुक्त बनाइने बताउनुभयो ।
प्रवक्ता नेपालीले रजस्वला, किशोरीको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले महानगरले अब सबै वडामा स्यानिटरी प्याडयुक्त शैक्षिक संस्था बनाउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो देख्दा सानो होला यद्यपि यसले किशोरीको स्वास्थ्य र मनोविज्ञानमा ठूलो असर पारेको छ, किशोरीको पढाइमा समेत असर पु-याउने संवेदनशील विषय भएकाले स्यानिटरी प्याड व्यवस्थापनमा महानगरले ध्यान दिनेछ ।”
उहाँले वडाले ३० हजार रकम विनियोजित गरी वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थाका स्नानगृह र शौचालयमा स्यानिटरी प्याड बक्स राखिने बताउनुभयो । सामाजिक अभियन्ता सुष्मा पौडेलले महानगरलाई निःशुल्क रुपमा शौचालयमा प्याड व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । उहाँले सफा शौचालय तथा स्वच्छ खानेपानीको व्यवस्थापनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


999 पटक हेरिएको 

