
भोजपुरः
– भोजपुरको आमचोक गाउँपालिका ७ र ८ देवानटारमा सञ्चालित खरखरे खानेपानी आयोजनाको अनुगमन तथा मूल्याङ्कनमा प्राविधिक टोली नआउँदा फरफारक हुनै पाएको छैन ।
– हतुवागढी गाउँपालिका वडा नम्बर १० हसनपुरस्थित सापेनटार खानेपानी आयोजनाको अन्तिम किस्ता रकम भुक्तानी लिन अझै बाँकी छ ।
– उपभोक्ता समिति आफैंले उधारोमा काम सम्पन्न गर्दा त्यसको भुक्तानी कसले दिने भन्ने अन्यौलता सिर्जना भएको छ ।
सरकारले फण्डबोर्ड विघटन गरेपछि भोजपुरका अधिकांश खानेपानी आयोजनाको हालत यस्तै भएको छ । फण्डबोर्ड पुनर्गठन नहुने हो भने कयौं खानेपानी आयोजनाहरु अधुरो हुने भयले उपभोक्ता समितिलाई सताउन थालेको छ ।
हतुवागढी गाउँपालिका वडा नम्बर १० हसनपुरस्थित सापेनटार खानेपानी आयोजनाका अध्यक्ष प्रसाद राई अन्तिम किस्ता रकम भुक्तानी अझै लिन बाँकी रहेको बताउँनुहुन्छ । ‘कतिपय संरचनाहरू बेलामा पैसा नआउँदा अपुरो रहेकाले बनेका संरचनाहरू पनि भत्किसके, यसले हामी उपभोक्ताहरू झन् धेरै मारमा परेका छौं ।’ उहाँले भन्नुभयो ।
सहयोगी संस्था हिहल्र्ड नेपाल भोजपुरका खानेपानी तथा सरसफाइ अधिकृत खगेन्द्र खड्का काम शुरु भइसकेका योजनाहरूले बीचमा अलपत्र पार्ने हिसाबले निर्णय गरेर रकम निकासा हुने नहुने अन्योल सिर्जना गर्नु सरकारको जनविरोधी काम भएको बताउँनुहुन्छ ।
धरानका हार्डवेयर पसलबाट उधारोमा सामान लिएर उपभोक्ताहरूले योजना सञ्चालन गरेका छन् । तर, पैसा नआउँदा योजना बीचैमा अलपत्र परेका हुन् ।
भोजपुरमा ३ वटा सहयोगी संस्थामार्फत् १६ वटा खानेपानी आयोजनाहरू सम्झौता भएर सञ्चालनमा छन् । १० महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्भौता भएका यी योजनाहरू उपभोक्ताकै निर्णय र बैंक खाता मार्फत् उनीहरूकै अपनत्वमा सञ्चालन हुने योजना हुन् । आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई आफ्नो गाउँपालिकामा फण्डबोर्ड मार्फत ३ वटा आयोजनाहरू सञ्चालन भएको भन्दै यी आयोजना सञ्चालनमा पारदर्शिता र जवाफदेहिता आफूले पाएको बताउनहुन्छ ।
फण्ड बोर्ड विघटनको निर्णयले सहयोगी संस्था मार्फत् यी आयोजनाहरूमा काम गरिरहेका झण्डै ५० जना कर्मचारीले ६ महिना अघिदेखि तलबसमेत नपाउँदा थप अन्याय भएको गैरसरकारी संस्था महासङ्घ भोजपुरका अध्यक्ष बलराम राईले बताउनुभयो ।


1300 पटक हेरिएको 

