काठमाडौं : प्रतिनिधिसभाका सांसदहरूले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्नेहरु विरुद्ध कडा कारबाही गर्न माग गरेका छन्।
संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदहरु यज्ञराज सुनुवार र राजेन्द्र लिङदेनले इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम अलपत्र परेकाले तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुनुवारले मेलम्चीको काममा ढिलासुस्ती भईरहेको कुरा पत्ता लगाउन संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने बताउनुभयो । उहाँले संसदीय समितिले छानबिन गरेपछि दोषीमाथि कारबाही गर्न सहज बताउनुभयो ।
बजेट अभाव भएको भन्दै इटालियन ठेकेदार कम्पनी सिएमसीले सकिनै लागेको मेलम्ची खानेपानी आयोजनाको काम छोडेको छ।
त्यस सम्बन्धमा यथार्थपरक छानबिन गर्न संसदीय समिति नै गठन गर्नुपर्ने सांसद सुनुवारको माग छ। अर्का सांसद राजेन्द्र लिङदेनले आयोजनाको काम अलपत्र पारेर जाने सिएमसी कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
आयोजनाको काममा ढिलासुस्ती गर्नेहरूलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग समेत गर्नुभयो । बैठकमा समितिका अन्य सदस्यहरुले पनि राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए।


960 पटक हेरिएको 

