काठमाडौ : खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीसँग करार सम्झौता रद्द गर्ने तयारी गरेको छ । कम्पनीले सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो ।
करार अनुसार काम सम्पन्न नगरेको, उल्टै विभिन्न शर्त तेर्स्याएर कामबाट पन्छिन खोजेको भन्दै करार रद्द गर्ने तयारी गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
‘नयाँ वर्ष मनाएर आउँछौं भनेर गएको ठेकेदार आएको छैन, उल्टै नयाँ शर्त अघि सारेको छ’ ती अधिकारीले भने, ‘रद्द गर्नुको अर्को विकल्प छैन।’ आर्थिक रुपमा टाँट पल्टेको घोषणा गरेको कम्पनीलाई उल्टै काम गरिदेउ भन्ने र अनुरोध गर्नु नै मन्त्रालयले गल्ती गरेको ती अधिकारीको भनाई छ।
‘इटालियन सरकारलाई म काम गर्न सक्दैन भनेर सीएमसीले घोषणा गरिसकेको छ, सरकारले ६० दिने सूचना जारी गरिसकेको छ, इटालियन सरकारले उसको बैंक खाता रोक्का गरेको छ’ ती अघिकारीले भने, ‘हाम्रा मन्त्रीज्यू, र सजिवज्यू त्यहीँबाट काम गराउँछौं भनेर जिद्दि गरिरहे, त्यसमा कुनै कानुनी वैद्यता थिएन।’जनवरी ७ सम्म काठमाडौं आउने भनेर ठेकेदारले समयसीमा दिएको थियो।
तर, आउनुको सट्टा नयाँ शर्त तेर्स्याएर ठेकेदारले पत्र पठाएपछि मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुर आश्चर्य चकित भएको ती अधिकारीले बताए।
‘मन्त्रीज्यू भन्दा पनि सचिवज्यूको आयोजनामा बढी दबाव थियो, त्यो दबावले ठेकेदारले करार रद्दको घोषणा गर्यो’ उनले भने, ‘यस्तै दबाव रहे जुनसुकै ठेकेदार आए पनि काम गर्न निकै कठिन हुन्छ।’
केही दिन अघि आयोजनाका प्रमुख सुर्यप्रसाद कँडेललाई इमेल लेखेर ठेकेदारले बेलायत अथवा सिंगापुरमा वार्ता गर्ने, सरकारले जफत गरेको पैसा फिर्ता दिनुपर्ने, अब नयाँ काम गर्दा पहिले नै भुक्तानी दिनुपर्ने र मूल्याङकन गर्नु अघि नै पैसा दिनुपर्ने लगायत माग अघि सारेको छ।
यसरी नयाँ माग राखेर पनि आयोजनाले काममा फर्कन आग्रह गर्दै सबै मागहरु वार्ताको माध्यमद्वारा समाधन गर्ने भन्दै पत्राचार गरेको ती अधिकारीले बताए। समयसीमा तोकेर पत्राचार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेपछि करार रद्द गर्ने तयारीमा मन्त्रालय पुगेको छ।


1104 पटक हेरिएको 

