सिएमसीसँग मेलम्चीको ठेक्का रद्द गर्न एडीबी सकारात्मक

 766 पटक हेरिएको

काठमाडौ : इटालियन ठेकदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द गर्न एसियाली विकास बैंक (एडीबी) सकारात्मक देखिएको छ । मेलम्ची खानेपानी विकास समिति र एडीबीका प्रतिनिधिबीच भएको द्विपक्षीय छलफलमा सीएमसीसँग सम्झौता रद्द गरेर आयेजनाको बाँकी काम सहायक ठेकदार कम्पनी मार्फत गर्न सहमति भएको हो ।

इटालियन कम्पनी सीएमसीका प्रतिनिधिहरू क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै भागेपछि समितिले ठेक्का प्रक्रिया रद्द गर्ने प्रक्रिया शुरु गरेको हो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा धेरै समय लाग्ने भएकाले बाँकी कामलाई अहिले काम गरिरहेका सहायक ठेकदार कम्पनी मार्फत गराउँदा राम्रो हुने एडिबीको सुझाव छ ।

खानेपानी मन्त्रालयका अनुसार हाल सम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । समितिका प्रवक्ता एवं सिनियर डिभिज्नल इन्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसारआयोजनाको बाँकी कामहरुको लागत अनुमान गरेर सहायक ठेकेदार मार्फत अगाडि बढ्न एडीबीले सुझाव दिएको छ ।

सरकार र दातृ निकायले सहायक ठेकदार कम्पनी मार्फत् काम अगाडि बढाउने निष्कर्ष निकाले पनि सीएमसीले भुक्तानी दिन बाँकी रकम उपलब्ध नभएसम्म काम गर्न नसकिने बताउदै आएका छन् । सीएमसीले सहायक ठेकदार कम्पनीहरुलाई डेढ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

समितिका प्रवक्ता पन्तले सहायक ठेकदार कम्पनी मार्फत काम अगाडि बढाउन पुरानो बक्यौता रकम दिनुपर्ने भए पनि कहाँबाट उपलब्ध गराउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

समितिका प्रवक्ता पन्तले सीएमसीसँग ठेक्का सम्झौता रद्द गरेलगतै राजस्व खातामा रोक्का रकम जम्मा गरिने बताउनुभयो समितिले सीएमसीको नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ रोक्का गरिसकेको छ ।

सीएमसीले ७ अर्ब ७१ करोड लागतमा जिम्मा लिएको आयोजनामा अहिलेसम्म ८ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ भने २ अर्ब ६० करोड बराबरको काम बाँकी रहेको अनुमान गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार