विराटनगर : प्रदेश नं. १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वस्थ जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि मन्त्रालय र धुर्मुस सुन्तली बीच सम्झौता भएको छ ।
सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ जीनवशैली प्रवद्र्धन सम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने, स्वस्थ जीवनका लागि खानपान, सरसफाइ र योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।
सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैँ सफा गर्छु’, ‘समुदायको सरसफाइमा मेरो दायित्व’ जस्ता नारा सहित दैनिक जीवन पद्दति, व्यवहार, सरसफाइ, पोषण आदिलाई जोडेर स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई स्वस्थ र समृद्ध बनाउन सरकार शुरुदेखि नै प्रयत्नशील भएको बताउनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र ‘स्वास्थ्य प्रवद्र्धन वर्ष– २०७५’लाई मूर्त रुप दिन सबै जना खानपिन, सफाइ र व्यायाममा केन्द्रित हुनुपर्ने बताउनुभयो । धुर्मुस सुन्तली राष्ट्रिय सरसफाइ अभियानका समेत सदभावनादूत हुनुहुन्छ ।


1040 पटक हेरिएको 

