भोर्लेटारको घरघरै मिटर जडित धारा

 1384 पटक हेरिएको

लमजुङ : लमजुङको मध्यनेपाल नगरपालिका ६ भोर्लेटारको ठूलोभदौरे, सानीस्वारा र काउरेका स्थानीयलाई पानीका लागि खोल्साखोल्सी धाउनुपर्ने बाध्यता टरेको छ ।

घरघरै खानेपानीको धारा जडान भएपछि स्थानीयले सहज महसुुस गर्न थालेका छन्् । घर आँगनमै धारा जडान भएपछि उनीहरुको दैनिकी परिवर्तन हुन थालेको छ । ठूलोभदौरेकी सन्सरी मल्लले घरमै धारा जडान भएपछि कामकाजमा सहज भएको बताउनुभयो ।

उहाँका अनुसार यसअघि टोल–टोलमा सामूहिक धारा थियो । पानी लिनका लागि धेरै समय लाग्थ्यो । लाइन बस्नुप¥थ्यो । धारामा पानी नआउँदा खोल्साखोल्सी तिर जानुप-थ्यो । अहिले आँगनमै धारा भएपछि पानीका लागि ढुक्क भएको उहाँले बताउनुभयो ।

स्थानीयका अनुसार पहिले ८/९ घरको बीचमा एउटा धारा थियो । ठूलो भदौरे, सानीस्वारा र काउने टोलमा गरी १३ वटा धारा मात्र थियो । अहिले तीनै टोलमा गरी १०३ घरमै मिटर जडित धारा छ । गाउँको सामुदायिक विद्यालयमा पनि धारा जडान गरिएको छ ।

घरमै धारा देखेपछि खुसी लागेको ठूलोभदौरे टोलकी ६१ बर्षीया डीलमाया दुराले बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रा पालामा कहाँ धारा देख्न पाइने । खोल्सा र कुवामा जानुप¥थ्यो । विहानै गए पानी पाइन्थ्यो । ढिलो गए पानी नलिई फर्कनुप¥थ्यो । अहिले त आँगनमै धारा छ । नुहाउन, लुगा धुन, गाईभैंसीलाई दिन, तरकारीमा पानी हाल्न, सबै काममा सजिलो भएको छ ।’

तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङ र स्थानीयको सक्रियतामा ठूलोभदौरे–सानीस्वारा–काउने खानेपानी योजनामार्फत घरघरै धारा ल्याइएको हो । स्थानीयको श्रमदान २ लाख ६० हजार रुपियाँसहित करिब ७८ लाख रुपियाँमा उक्त योजना सम्पन्न गरिएको ठूलोभदौरे–सानीस्वारा–काउरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष बीरेन्द्र मल्लले बताउनुभयो ।

उहाँका अनुसार तीन टोलका सबै घरमा धारा जडान गरिएको छ । उक्त खानेपानी योजनामार्फत करिब ६०० नागरिक लाभान्वित भएका छन् । उहाँले भन्नुभयो–‘खानेपानी योजना सम्पन्न पछि यहाँ पानीको कुनै समस्या छैन । टाढा जानुपर्ने र कुर्नुपर्ने बाध्यता छैन । स्थानीयले २४ सैं घण्टा पानी पाएका छन् ।’

समितिका उपाध्यक्ष सुकबहादुर दुराका अनुसार करिव ५ किलोमिटर टाढा रहेको नेटाको हाँडीखोला मूलबाट पानी ल्याइएको हो । घरपिच्छे धारा जडान भएकाले स्थानीयले सहज रुपमा जीवनयापन गर्न थालेको उहाँले बताउनुभयो ।

उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको र प्रदेशका सबै घरमा खानेपानीको धारा पु¥याउने योजना बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘प्रदेशका सबै घरमा २ बर्षभित्रमा खानेपानी पु¥याउने योजना छ । खानेपानीको सहज सुविधाबाट बञ्चित ९ प्रतिशत नागरिकको घरमा खानेपानी पु¥याउने योजना सुरु भएको छ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार