काठमाडौ : काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोलीले काठमाडौ महानगरपालिकाको विभिन्न स्थानमा सञ्चालित सार्वजनिक शौचालयको निरीक्षण गरेको छ । टोलीले रत्नपार्कको शौचालय, बीर अस्पताल अगाडिको शौचालय, खुलामञ्च, पुरानो बसपार्क, भद्रकाली, पेट्रोल पम्प सिटी हल, खानेपानी तथा ढल व्यवस्थापन विभागमा निर्माणाधीन ई शौचालयको निरीक्षण गरेको हो ।

निरीक्षणको नेतृत्व गर्नुभएकी उपमेयर खड्गीले शौचालय निरीक्षणका क्रममा कतिपय सार्वजनिक शौचालय व्यवस्थित तरिकाले सञ्चालन भईरहेको पाइएको बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको छोटो अन्तरक्रियामा उहाँले सार्वजनिक शौचालयलाई व्यवस्थित तरिकाले पनि सञ्चालन गर्न सकिन्छ है भन्ने नमुना पाएको बताउनुभयो । कतिपय शौचालय भने फोहोर, न्यूनतम पूर्वाधारको अभाव तथा महिलामैत्री नभएको भेटिएको उहाँले बताउनुभयो ।

उपमेयर खड्गीले विभागको प्राङ्गणमा निर्माण भईरहेको ईशौचालयको बिषयमा पनि जिज्ञासा राख्नुभएको थियो । महिला, पुरुष र अपाङ्गता भएकाका लागि समेत प्रयोग गर्न मिल्ने भएकाले ईशौचालय निक्कै प्रभावकारी हुने उहाँको धारणा थियो । उहाँले काठमाडौ महानगरपालिकाको सबै वडामा शौचालय निर्माण गर्ने बिषयमा स्थान पहिचानको काम भईरहेको र शौचालय निर्माणका बिषयमा विभागसँग सहकार्य गर्ने बताउनुभयो ।

‘बिगतमा सहकार्यको अभाव भएकै हो, समन्वय र सहकार्यको अभावमा कतिपय काम हुन नसकेको पनि होला । अब सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनका बिषयमा महानगर र विभाग सँगसँगै जानुपर्छ’ उहाँले भन्नुभयो ।
राजधानी खुला दिसामुक्त घोषणा नहुँदा अन्त जाँदा शीर निहुरियो : प्रमुख झा
अन्तरक्रियामा वातावरण तथा ढल व्यवस्थापन शाखाका प्रमुख देवेन्द्र झाले नेपालको सरसफाइको तथ्याङ्कबारे जानकारी गराउनुभएको थियो । उहाँले काठमाडौ महानगरपालिका र शंकारापुर नगरपालिका खुला दिसामुक्त घोषणा गर्न नसक्दा काठमाडौ जिल्ला खुला दिसामुक्त घोषणाको योजना समेत प्रभावित भएको बताउनुभयो ।
उहाँले काठमाडौ खुला दिसामुक्त नहुँदा विभिन्न जिल्लामा सरसफाइ कार्यक्रम सञ्चालन गर्न समेत गाह्रो भएको अनुभव सुनाउदै शौचालय बनाएर खुला दिसामुक्त घोषणा गर्ने काममा सघाउन आग्रह गर्नुभयो ।
‘हामी जहाँ जान्छौं, देशको राजधानी खुला दिसामुक्त घोषणा गर्नुस् न हामी त गरिहाल्छौं भन्ने कुरा आउँछ । त्यस्तो अवस्थामा हामी शीर निहुराएर हिड्नुपर्ने अवस्था छ । अब विभाग र महानगर मिलेर बाँकी चर्पी बनाएर काठमाडौलाई खुला दिसामुक्त घोषणा गरौं’ उहाँले उपमेयर खड्गीसँग आग्रह गर्नुभयो ।
पहिलेकै सम्झौता अनुसार गर्छौ : सहसचिव खनाल
विभागका सहसचिव अनिल भद्र खनालले भने सन् २०१७ भित्रै देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम विभिन्न कारणले प्रभावित भएपनि यही आर्थिक बर्षभित्र खुला दिसामुक्त घोषणा गर्ने सरकारको योजना रहेको जानकारी गराउनुभयो ।
उहाँले सार्वजनिक शौचालय निर्माण र व्यवस्थापनको सवालमा महानगरपालिका सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामी संघीयता कार्र्यान्वयनका क्रममा संरचनागत अन्यौलले केही समय अलमल भएकै हो । अब करिब करिब त्यो अन्यौलता सकिएको छ । कर्मचारी समायोजनको क्रम पनि शुरु भएको छ । विगतमा महानगर र बिभाग बीच जे समझदारी भएको छ, हामी त्यही अनुरुप अगाडि बढ्न तयार छौं’ सहसचिव खनालले भन्नुभयो ।
अन्तरक्रियाका क्रममा महानगरपालिकाको १५ नं. वडाका अध्यक्ष ईश्वरमान डंगोलले इशौचालय निर्माणका लागि महानगरपालिकाले ४० प्रतिशत र खानेपानी तथा ढल व्यवस्थापन विभागले ६० प्रतिशत लगानी गर्ने सम्झौता भएको स्मरण गराउनुभएको थियो ।
टोलीका सदस्य प्रकाश अमात्यले सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी कार्यविधि महानगरपालिकाले निर्माण गरिरहेको र विभागले यससम्बन्धी निर्देशिका बनाईसकेकाले आगामी बैठकमा बुँदागत रुपमा छलफल गर्नुपर्ने बताउनुभयो । राजधानीमा हुनुपर्ने सार्वजनिक शौचालयको नमुना तयार गरी लागु गराउन पाए अन्य शहरमा समेत सजिलै अबलम्बन गर्न सकिने उहाँको धारणा थियो ।


1584 पटक हेरिएको 

