काठमाडौ : खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पार्नु भएको छ ।
मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाउनु भएको हो । बिहीबार संघीय संसदको अर्थ समितिकोबैठकमा बोल्दै उहाँले सो कम्पनीले तीर्न बाँकि नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको पनि बताउनुभयो ।
सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुको ३ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । मन्त्री मगरले सो कम्पनी पुनः फर्केर नआए निर्माण व्यवसायीहरुको भुक्तानी रकम असुल गराउन कानुनी बाटो नभएको बताउनुभयो ।
तर सरकारले यसअघि नै सिएमसीसँग मेलम्चीको ठेक्का सम्झौता तोडिएको घोषणा गरिसकेको छ ।
मन्त्री मगरले सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुलाई ठगी गरेको अर्बौ रकम असुली गर्ने कानुनी बाटो देखाई दिन पनि समितिलाई आग्रह गर्नुभयो । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएको सिएमसी कम्पनी आर्थिक अभावको कारण देखाउँदै सो काम छोडेर हिँडेको छ ।
मन्त्री मगरले सो कम्पनीले काम नगरे अन्य कम्पनीलाई लगाउन सरकार तयार भएपनि त्यसका लागि आवश्यक निर्देशन दिन पनि समितिको ध्यानाकर्षण गराउनुभयो ।


875 पटक हेरिएको 

