१ गाग्री पानीका लागि १ घण्टा हिड्नुपर्ने, नगरपालिका र प्रदेश सरकारसँग पहल गरेको वडा अध्यक्षको भनाइ

सल्यान : सल्यानको बागचौर नगरपालिका–११ बाफुखोलामा खानेपानी अभाव भएको छ । अहिलेसम्म गाउँमा खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा बताउँछन् ।


बागचौर नगरपालिका–११ बाफुखोलाको बुढागाउँमा एक गाग्री पानी लिनका लागि एक घण्टा बढी समय लाग्ने गरेको स्थानीय वसन्त बुढाले बताउनुभयो । “यहाँ एक गाग्री पानी ल्याउनका लागि मात्रै एक घण्टा समय लाग्छ । यसले गर्दा घरको कुनै एक सदस्यको पानी ल्याउनमा नै पूरै दिन बित्छ,” उहाँले बताउनुभयो ।

खानेपानी अभावकै कारण आफ्ना छोराछोरीको पढाइ समेत प्रभावित बनेको अर्का स्थानीय वीरबहादुर बुढाले बताउनुभयो । “म बुढोले मेरा नानी बाबुलाई खानेपानी ल्याउ भनुँ कि पढ ? हाम्रा पीडा कसले बुझ्छ ?” उहाँले भन्नुभयो । यहाँका १२ घरधुरी खानेपानी अभावमा दैनिकी चलाउँदै आएका छन् ।

वडाध्यक्ष मोहनलाल खड्काले भने समस्या समाधानका लागि आफू तयार भएको बताउनु भएको छ । उहाँले खानेपानी समस्या समाधानका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकार सम्म पहल गरिरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार