कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले पहिलो पटक दुई वटा खानेपानी आयोजनाको बीमा गरेको छ । वडा नं. ९ मा सञ्चालित वाडदेव वालुवा खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना र पिपल चौतारा थिर्पु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको बीमा गरिएको वडा अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो ।
पिपल चौतारा थिर्पु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको ५८ लाख ८७ हजार ५ सय ६ रुपैयाको बीमा गरिएको छ । यस आयोजनाले बीमा अभिलेख सुरक्षित राख्न बार्षिक १२ हजार ३ सय ३० रुपैयाँ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई रकम तिर्नु पर्नेछ ।
यस्तै वाडदेव वालुवा खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको ३१ लाख ४९ हजार १ सय ९२ रुपैयाँको बीमा गरिएको हो । यस आयोजनाले बार्षिक ६ हजार ६ सय ५ रुपैयाँ तिर्नुपर्नेछ । विमा बीमा कम्पनीले इन्टेक, पाइप लाइन र आरभिटी कुनै कारण क्षति भएमा १० हजार भन्दा माथिको भुक्तानी दिनेछ ।
आयोजनाहरु निर्माण पछि मर्मत सम्भारको अभावमा प्रयोग विहिन हुने समस्या बीमा गरेपछि कम हुने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले बताउनुभयो । सबै आयोजनाहरुको बीमा गर्न गाउँपालिकाले बिशेष कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष बमले बताउनुभयो ।
यहाँका २ सय ५ घरधुरीमा एक घर एक धारा, घर आँगन सरसफाइ, शौचालय सुधार लगायतका कार्यहरु संचालन भएका छन् । खानेपानी आयोजनाहरु दिगो संचालन तथा ब्यवस्थापनका लागि आयोजनाको बीमा गर्नु परेको पिपल चौतारा थिर्पु खानेपानी सरसफाइ तथा स्वच्छता समितिका अध्यक्ष कृष्णबहादुर बमले बताउनुभयो । आयोजनाको दिगोपनाका लागि बीमा गरिएको किर्डाक नेपालका खानेपानी सरसफाइ तथा स्वच्छता थिम लिडर नविनकुमार शाहीले बताउनुभयो । पलाँता ९ मा वाटर एडको सहयोगमा किर्डाक नेपालले दिगो खानेपानी सरसफाइ तथा स्वच्छता सहयोग परियोजना सञ्चालन गरिरहेको छ ।


1493 पटक हेरिएको 

