पानीको मुहान खोज्न जंगल चहार्दै नगर प्रमुख

संखुवासभा : चुनावको समयमा खानेपानी समस्या हल गरिदिने बाचा पुरा गर्न पाँचखपन नगरपालिकाका प्रमुख तथा उपप्रमुख खानेपानीको मुहानको खोजीमा लागेका छन् । खानेपानी समस्या भोग्नुपरेका नगरका करिब तीन हजार घरपरिवारले जनप्रतिनिधि प्रति आक्रोस पोख्न थालेपछि जनप्रतिनिधि पानीको मुहानको खोजीमा लागेका हुन् ।

जनप्रतिनिधीले चुनावको समयमा राजनीतिक दलका तर्फबाट खानेपानीको ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । लामो समयसम्म कुनै पहल नभएपछि स्थानीयले पानीको ब्यवस्था मिलाउन बारम्बार जनप्रतिनिधिलाई दबाब दिँदै आएका छन् ।
अहिले नगरका वडाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख नै पानीको मुहान खोज्दै जंगल जंगल हिड्न परिरहेको नगर उपप्रमुख भीमादेवी राईले बताउनुभयो । ।

लामो खडेरीका कारण अहिले पाँचखपन नगरपालिकाको वाना बजार, लिंङलिंङ्, खानीगाउँ, अर्चले, खप्टुवा, खमारे लगायतका बजारक्षेत्रमा खानेपानीको समस्या देखिएकाले सिंगो नगर र वडाको ध्यान खानेपानी समस्या समाधानका लागि केन्द्रित रहेको वडाध्यक्ष काजीमान तामाङले बताउनुभयो ।

जथाभावी सडक निर्माण र मुहान नजिकका रुख कटान हुन थालेका कारण मूलहरू सुक्दै जान थालेको समाजसेवी डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । खानेपानी समस्याले नगरवासी काकाकुल बन्दै गएपछि विभिन्न विकल्पको खोजी सुरु गरिएको नगरप्रमुख विपिन राईले बताए ।

खानेपानी समस्याले १० घर विस्थापित

खानेपानी समस्याकै कारण पाँचखपन–४ खानीगाउँबाट १० परिवार विस्थापित भएका छन् । खानीगाउँका गोपाल विक, चन्द्र श्रेष्ठ, गंगा श्रेष्ठ, गणेश विक, गंगाबहादुर विक, भीम श्रेष्ठका परिवार गाउँ छाडेर बसाइँ सराइ गरेका छन् ।

वर्षाैंसम्म पानीको सुविधा पाइने पर्खाइमा आफ्ना तीन पुस्ताले कष्टकर जीवन बिताइसकेको र अझै पानीको सुविधा गाउँमा आउने आसा मरेपछि आफूहरू गाउँ छोड्न बाध्य भएको स्थानीय गणेश श्रेष्ठले बताउनुभयो । हामी श्रम गरेर खाने मान्छे प्रसस्त श्रम र जग्गा जमिन भए पनि पानीको सुविधा नहुँदा पाखोबारी रुँघेर परिवार पाल्न नसकिने भएकाले आफूले सस्तो मूल्यमा घरखेत बेचेर अन्यत्र लाग्नु परेको उहाँको दुःखेसो थियो ।

पाँचखपन नगरभित्र  पानीको स्रोत नहुँदा समस्या भएको र भएको मूल पनि ब्यक्तिको नाममा रहेका कारण महँगोमा खरिद गर्नुपर्ने परिस्थिति आएकाले केही समय धैर्य नगुमाउन नगरपालिकाले स्थानीयलाई अनुरोध गरेको छ ।

नगरप्रमुख विपिन राईले भरपर्दाे स्रोतको खोजी भइरहेकाले चाँडै नै खानेपानी समस्या समाधान गर्न आफू खटिरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार