काकाकुल गाउँमा चौबीसै घण्टा खानेपानी, एकैघरबाट ११० दिन श्रम

म्याग्दी : म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका– ४ सिस्नेरी र खवाङका घरघरै खानेपानी सुविधा पुगेको छ ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत बन्दरमूल खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेर स्थानीयवासीलाई निजी धारा मार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो ।

६५ लाख रुपैयाँ लागतमा निर्माण भएको आयोजनाबाट सिस्नेरी र खवाङका ५३ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले जानकारी दिनुभयो । वि. सं २०७४ माघदेखि शुरु भएको आयोजना शुक्रबार सम्पन्न भई घरघरमा पानी आउन थालेको हो ।

कुवा, पधेँरा र खोल्साको दूषित पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरमै नियमित खानेपानी उपलब्ध भएपछि खुशी भएका छन् । स्थानीय एउटा सामुदायिक विद्यालयमा पनि बालमैत्री सार्वजनिक धारा निर्माण गरिएको छ ।

दन्दुर, तल्लो दुन्दुर र महखोलाको मुहानको पानीबाट आयोजना सञ्चालन गरिएको छ । गाउँपालिका, नेपाल र फिनल्याण्ड सरकारले ४५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि उपभोक्ताले २० लाख रुपैयाँ बराबरको श्रमदान गरेको अध्यक्ष सुनारले बताउनुभयो ।

सो खानेपानी आयोजना निर्माणका लागि एक घरले ११० दिनका दरले श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकट, यातायातको असुविधा र ढुवानीको समस्याको बाबजुत पनि निर्धारित समयमै खानेपानी आयोजना निर्माण गरिएको अध्यक्ष सुनारले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार