सुक्खा क्षेत्रमा खानेपानी योजना, २२ हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउने तयारी

पाँचथर : सरकारले पाँचथरको सुक्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउन तयारी थालेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका ७ वडाका बासिन्दालाई खानेपानीको व्यवस्थाका लागि सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएर काम अघि बढाएको हो ।

दुवै स्थानीय तहमा रहेका स्थायी पानीका मुहान समेत सुकेर पिउने पानीको हाहाकार हुन थालेको छ । सरकारले कुम्मायक र तुम्बेवा गाउँपालिकामा ठूला लिफ्टिङ र पम्पिङ आयोजना सञ्चालन गरिरहेको छ । दुवै ठूला आयोजना अहिले निर्माणाीधन अवस्थामा छन् ।

कुम्मायक गाउँपालिका केन्द्र यासोकमा निर्माण भइरहेको यासोक खानेपानी आयोजना ०७४ पुस १५ भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भएपनि परामर्शदाताका ढिलाइले अझै सम्पन्न हुन बाँकी छ ।

योजनाको लागत अनुमानमा पहुँच सडक निर्माणको योजना समावेश नहुँदा र पानीको मुहान यकिन नहुँदा उत्पन्न विवादले निर्माण कार्यमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो । यो आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का ३ हजार ४३ परिवारका १३ हजार ८ सय ४० जना लाभान्वित हुनेछन् ।

तमोर नदीको लोरिपा दोभानमा मूल ट्याङकी निर्माण गरी विद्युतीय पम्पिङ प्रविधिबाट माथि रहेका सात वटा लिफ्टिङ ट्याङकीमा पानी पठाइनेछ । यसरी पठाइएको पानी १७ किलोमिटर ४८ मिटर उचाइमा पुर्‍याएर वितरण गरिने आयोजनाका इन्जिनियर रविन्द्र रायले बताउनुभयो ।

यसरी ल्याइएको पानी प्रसारण लाइन मार्फत यासोक बजार नजिकको थापागाउँसम्म ल्याएर वितरण गरिने आयोजनाले जनाएको छ । नदी सतहबाट सात वटै ट्याङकीसम्म सडक र विद्युतको पहुँच पुर्‍याइएको छ । यो आयोजना सम्पन्न गर्न प्रेरा स्वामी नारायण जेभी ललितपुरले १७ करोड ३० लाख ६५ हजार ६ सय ८ रुपैयाँ लागतमा प्रसारण लाइन निर्माणको जिम्मा लिएको छ ।

वितरण लाइनमा तीन प्रकारका पाइप प्रयोग गरिएका छन् । वितरण लाइनको ६ हजार ५ सय ४५ मिटरमा डीआइ पाइप प्रयोग हुनेछ भने १७ हजार ३ सय ४ मिटर वितरण लाइनमा जीआइ पाइप प्रयोग हुने आयोजनाले जनाएको छ ।

१ लाख ८६ हजार ६ सय ६७ मिटर लम्बाइ क्षेत्रमा एचडीपीइ पाइपको प्रयोग गरिनेछ । यसको जिम्मा २२ करोड १० लाख ८ हजार लागतमा कन्काई–महादेव खिम्ती–स्वामी नारायण जेभी सुनसरीले लिएको छ ।

०७३ फागुन ६ गते सम्झौता गरेको कम्पनीले फागुन ५ गतेसम्ममा पाइप वितरण लाइनको काम सम्पन्न गर्नुपर्ने भएपनि अझै काम बाँकी रहेको उपभोक्ता समितिका महासचिव अमरसिंह थापाले बताउनुभयो । पाइप लाइन विस्तारको काम २० प्रतिशत बाँकी छ । आगामी वैशाख सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी काम भइरहेको थापाले बताएउनुभयो।

सरकारले २०६८ सालमा साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साविकका आङ्ना र मौवा गाविसमा खानेपानीको समस्या समाधानका लागि दुबै क्षेत्रमा अर्को खानेपानी आयोजनाको निर्माण भइरहेको छ ।

यो आयोजनाबाट तुम्बेवा गाउँपालिकाको वडा नं १, २ र ३ का १ हजार ६ सय ४ घरधुरीका ८ हजार २ सय ३० जनालाई स्वच्छ खानेपानी सुविधा पुग्ने गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताउनुभयो ।

सम्झौता अनुसार आगामी ०७६ पुस २५ गते सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । कन्काई–प्रेरा जेभी काठमाडौंले ०७३ असार २५ गते आयोजना निर्माणको जिम्मा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार