खानेपानीको दुःख सदाका लागि बिदा

 

स्याङ्जा : असुरक्षित मुहान । टुक्रैटुत्रा जोडिएका र छिरलिएका पाइपलाइन । भत्केका धारा । भत्किएपछि मर्मतसम्भार हुन नसक्दा जीर्ण ट्यांकी । असुरक्षित स्रोतबाट अव्यवस्थित खानेपानीका कारण हैरानी खेप्दै आएका कोल्मा काल्खुका बासिन्दाको मुहारमा अब हर्ष झल्किन थालेको छ ।

पुतलीबजार–९ को काल्खुका हुमप्रसाद रानाको आँगनमा अहिले खानेपानीको धारा पुगेको छ । घरमै धारामा पानी पुगेपछि परिवारमा खुसियाली छाएको उनी बताउँछन् । गाग्री बोकेर सार्वजनिक धारामा लाइन बस्नुपर्ने बाध्यता हटेपछि काल्खु गाउँका धेरै परिवारलाई राना जसरी नै हाइसञ्चो भएको छ ।

दिनहुँ चाहिने पानीको स्रोत पर्याप्त भए पनि व्यवस्थित वितरण नहुँदा समस्या भएको अर्का स्थानीय इन्द्र रानाले बताए । ‘खानेपानीको मूल, ट्यांकी, पाइपलाइन खुला र अव्यवस्थित हुदाँ असुरक्षित पानीको प्रयोग गर्दै आएका थियौं,’ उनले भने, ‘लामो समयपश्चात् हाम्रो समस्याको समाधान भएको छ । ठूलो प्रयासपछि घरघरमा खानेपानीको धारा ल्याउन सफल भयौं ।’

हिउँदको समयमा डढेलोका कारण डढेका वनस्पति र मरेका पशुपन्छी मिसिएको पानी र वर्षायाममा धमिलो पानी पिउनुपर्ने बाध्यताबाट अब भने मुक्ति मिलेको उनले बताए । पुतलीबजार नगरपालिकाको एक घर एक धारा नीतिअनुरूप नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत सञ्चालित दहचण्ड्यान खानेपानी तथा सरसफाइ योजनाको निर्माण कार्य सम्पन्न भएपछि यहाँका स्थानीयका प्रत्येक घरमा खानेपानी पुगेको छ ।

परियोजनाका वास सल्लाहाकार मीनप्रसाद बस्नेतले तेस्रो अनुगमन, सार्वजानिक परीक्षण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको जानकारी दिए । योजनाको उद्घाटन पुतलीबजार नगरप्रमुख सीमा क्षत्रीले गरेकी हुन् । उद्घाटन गर्दै नगरप्रमुख क्षत्रीले बाँकी रहेका साबिकका १ र २ वडामा पनि अर्को वर्षदेखि एक घर एक धारा कार्यक्रम सुरु गरिने बताइन् । यस योजनाबाट ६७ घरधुरीका ३ सय ८८ जना लाभान्वित हुनेछन् ।

मूलदेखि ट्यांकी हुँदै सुरक्षित तरिकाले घरघरमा धारा पुर्‍याइएको बस्नेतले जानकारी दिए । ‘प्रत्येक घरमा मिटर जडान गरी पानी महसुल उठाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसरी उठाइएको रकम योजनाको मर्मतसम्भार कोषमा राखी मर्मतमा नै खर्च गरिनेछ ।’ योजनाको मर्मतसम्भार तथा नियमित रेखदेखका लागि २ जना मर्मतसम्भार कार्यकर्ता राखिएको उनले बताए ।

योजनाको दिगोपनाका लागि उपभोक्ताले मर्मत सम्भार कार्यविधि बनाई मर्मतसम्भार कोषको रूपमा ५४ हजार रुपैयाँ जम्मा गरिसकेको र मासिक पानी महसुलबाट खर्च कटाई मर्मतसम्भार कोष बढाउँदै लैजाने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर रानाले बताए । घर–घरमा सफा र शुद्ध खानेपानी उपयोग गर्न पाउँदा सबै जना हर्षित देखिन्छन् । व्यवस्थित खानेपानी प्रणाली सञ्चालनमा आएकाले योजना दिगो हुने आशा स्थानीयको छ ।

घरमै करेसाबारी व्यवस्थित गरी तरकारी फलाएर खान पाउने योजनाका सचिव जीवन थापाले बताए । बस्नेतले २२ लाख ५८ हजारको लागतमा निर्माण गरिएको योजनालाई नगरपालिकाले २ लाख २५ हजार रुपैयाँ अनुदान दिएको बताए । यस्तैगरी उपभोक्ताले २२ हजार ५ सय ८९ रुपैयाँ सहयोग गरेका छन् भने ६ लाख ५४ हजार बराबरको श्रमदान गरेको आयोजनाका प्राविधिक राजन रानाभाटले जानकारी दिए ।

रानाभाटका अनुसार नेपाल सरकार र फिनल्यान्ड सरकारको अनुदान रकम १३ लाख ४६ हजाररुपैयाँ रहेको छ । ४–४ वटा इन्टेक र रिजरभ्वायरट्यांकी बनाएको बताउँदै उनले १६ घनमिटरका दुईवटा निर्माण गरिएको बताए । कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार