
बागलुङ : दैनिक एक घण्टा लगाएर खोल्साको पानी खेप्ने समस्याबाट ढोरपाटन नगरपालिका–५ चौरकी हिमाकुमारी पौडेलले मुक्ति पाएकी छन् । पानी ओसार्दा लाग्ने समय उनले अब तरकारी खेतीमा लगाउन पाएकी छन् ।
नजिकमा पानीको स्रोत नभएपछि खोल्साखाल्सी पुगेर गाग्रीमा पानी खेप्दा हैरानी थियो । ‘पानी ओसार्दा समयमा खाना नपाक्ने समस्याले छोराछोरी विद्यालय पठाउन पनि समस्या थियो,’ पौडेलले भनिन्, ‘अहिले घरकै आँगनमा धारा आएको छ, साह्रै सजिलो भयो ।’ ठूलो पँधेराबाट सौर्य विद्युत्मार्फत बनाइएको लिफ्ट खानेपानी आयोजनाले उनको समस्या समाधान भएको हो ।
चौर खानेपानी तथा सरसफाइ परियोजना मार्फत ३ वटा ट्यांकी बनाएर ३ सय ७२ मिटरको उचाइमा पानी पठाएपछि चौरका ४० घरमा धारा वितरण भएको हो । मिटर जडान गरेर उनीहरूले मासिक शुल्क तिर्ने गरी धारा बनाइएको उपभोक्ता समितिका अध्यक्ष घनश्याम गिरीले बताएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
मूलको पानी पाइपलाइनबाट ल्याउन करोड खर्च गर्दा पनि सम्भव नभएपछि लिफ्ट प्रविधिमा गएको उनले बताए । लिफ्टबाट पानी तान्दा विद्युतको आवश्यकता परेकाले ३ सय २५ वाटका १८ सोलार प्यानल जडान गरेपछि उत्पादित ५ हजार ८ सय ५ सय ५० वाट क्षमताको सौर्य ऊर्जाले पानी तानिएको हो । २० हजार लिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गरिएको हो ।
चौरमा २१ घर दलित परिवार छन् भने १९ घर बाहुन–क्षत्री र जनजाति छन् । दैनिक मेलापात, ज्यालामजदुरी गर्नेले पानीकै अभावमा खोल्सामा गोठ राखेर पशुपालन गर्न बाध्य थिए । खानेपानी अभावले बसाइँसराइ पनि थियो । ‘हामीले त पानीकै कारण मर्नुपर्ने अवस्था थियो, अहिले राम्रो भयो,’ स्थानीय शिरिलाल विकले भने, ‘अब समयमा छोराछोरी पढ्न पठाउन सकिने भयो ।’ आफ्नो घरको र छिमेकीको पानी खेप्न पठाउनुपर्दा केही बालबालिका विद्यालय नगएको उनले बताए ।
पानीको व्यवस्थाले सबै घरमा शौचालय प्रयोगमा ल्याउने र सरसफाइमा नमूना बनाउने योजना पनि स्थानीयले अगाडि सारेका छन् । यसअघि पानीकै अभावमा धेरै शौचालय प्रयोगविहीन थिए । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले लिफ्ट विधिको पानी निर्माण गरिदिएको हो । २० लाख ४९ हजार लगानी गरेको यो आयोजनामा स्थानीयले २ लाख नगद र श्रमदान गरेका थिए ।
ढोरपाटन नगरपालिकाले २ लाख ५० हजार रकम थप गरेपछि २५ लाख रुपैयाँमा यो आयोजना सम्पन्न भएको नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार सिलवालले बताए । ‘जिल्लामा हामीले लिफ्ट र अन्य गरी ३० वटा आयोजना सञ्चालन गरेका छौं’ सिलवालले भने, ‘पानीकै कारण बसाइँ सर्ने बाध्यता, बालबालिका विद्यालय जाने समस्याजस्ता कम गर्न खोजेका छौं ।’
पानी आएपछि हरेक घरले कृषि फसल फलाएर व्यावसायिक बन्नुपर्ने प्रस्तावसमेत राखेर आयोजना बनाइएको उनले बताए । कृषि फसल उत्पादन गर्दा रोजगारी र आम्दानी बढ्ने गरी उपभोक्तालाई जागरुक गराइएको उनले बताए ।
चौर बुर्तिबाङ बजारदेखि पैदल २ घण्टाको उकालो चढेपछि मात्र पुग्न सकिन्छ । यहाँ पानीकै अभावले मस्ती, अर्नाकोट, प्याङ्खखोला लगायतमा खानेपानीको संकट छ । स्रोत भएका स्थानको खोजी गरेर मुहानबाट ल्याउने र लिफ्टको खोजी गरी सबै गाउँमा योजना पुर्याउन पहल भइरहेको स्थानीय शिक्षक चूडामणि पौडेलले बताए ।


1502 पटक हेरिएको 

