धादिङ : धादिङको ज्वालामूखी गाउँपालिकाको वडा नं. ६ मा निर्माण गरिएको खत्री गाउँ खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हन्तान्तरण गरिएको छ । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोद राज तिमिल्सेनाको प्रमुख आतिथ्यमा आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
वडाका २२ वटै घरमा धारा भएको सुनिश्चित भएपछि शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यले उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरिएको प्रमाण पत्र प्रदान गर्नुभयो ।

खानेपानी तथा सरसफाइ आयोजना हस्तान्तरण एवं सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी बिनोदराज तिमिल्सेनाले थोरै आर्थिक सहयोगमा पनि उल्लेखनिय काम भएको भन्दै उपभोक्ता समितिका पदाधिकारी तथा सहयोगी संस्थालाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले संस्थाले काम गर्ने परिपाटी पारदर्शी भएको र आगामी दिनमा पनि स्रोत साझेदारी गर्न तयार रहेको बताउनुभयो ।

यस्तै वडा नं. ६ का अध्यक्ष अर्जुन अर्यालले वडा नं. ६ को खत्रीगाउँलाई सरसफाइको नमुना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुदायले आयोजना सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिदै शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यले सरसफाइको आधारभुत सुचक पूरा गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
वडा कार्यालयको ३ लाख रुपैयाँ र शान्ति नेपालको ३ लाख ८५ हजार ५७८ रुपैयाँ अनुदान तथा समुदायको १ लाख ५२ हजार ६०० रुपैयाँ श्रमदान गरी ८ लाख ३८ हजार १ सय ७८ रुपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

खानेपानी आयोजना सम्पन्न हुनु अघि अधिकांश घरपरिवारले करीब १५ मिनेट टाढा रहेको असंरक्षित मुलको पानी ओसारेर पिउन र घरायसी प्रयोजनको लागि प्रयोग गर्दै आएका थिए । अहिले १० घनमिटरको RVT निर्माण भई २२ घरपरिवारमै प्रयोगकर्तामैत्री धारा निर्माण भएपछि खानेपानीको सहज आपूर्ति भएको छ ।
पानीको बहुउपयोग नीति अनुसार खेर गएको पानीलाई पुनः प्रयोगको लागि पानी संकलन गर्ने व्यवस्था समेत सबै घरधुरीले सुरु गरेका छन् ।



1945 पटक हेरिएको 

