खानेपानीका लागि उर्लिए गाउँले

उदयपुर : खानेपानीको समस्या हल गर्न उदयपुरको चौदण्डीगढी नगरपालिका – २ गंगटे र भित्तेका सर्वसाधारणलाई यत्तिबेला न भोक छ न तिर्खा । सबै जना खटेर खानेपानी लैजान सके तिर्खाएर बस्नु पर्ने दिनको अन्त्य हुने आशामा हरेक घरका महिला पुरुष श्रममा जुटेका छन् ।
गाउँमा सञ्चालित खानेपानी आयोजनाको मुहान ४ वर्षअघि लामा खोलामा आएको बाढीले बगाएपछि खानेपानीको चरम समस्या भएको हो । खानोपनी समस्याको आफ्नै सक्रियतामा समाधान गर्ने हेतुले करिब २ सय गाउँले श्रमदानमा जुटेका हुन् ।

खानेपानी आयोजनाको ट्यांकी निर्माणका लागि ३ लाख र पाइप खरिदका लागि ५ लाख रुपैयाँ उपलब्ध गराएपछि बाँकी काम गाउँलेकै सक्रियतामा सम्पन्न हुन लागेको हो ।

२ सय स्थानीयले लगातार ३ दिनसम्म काम गर्दा करिब १ हजार ५ सय मिटर खानेपानीको पाइप पुर्ने काम सम्पन्न भइसकेको छ । अब इन्टेक र ट्यांकी निर्माणको काम बाँकी रहेको भित्तेकी हेमा अधिकारीले बताउनुभयो ।

‘पहिलेको मुहान बाढीले भत्काइ दिएर पानीको समस्या भयो, पानीकै लागि हामी भित्ते र गंगटेका करिब २ सय घरधुरीबाट प्रत्येक घरको एक जनाका दरले श्रमदान गरिरहेका छौं’ अधिकारीले भन्नुभयो ।

वडा नं. २ का अध्यक्ष सन्तोष सुवेदीका अनुसार लामाखोलाको सुठुनीबारीबाट दुवै गाउँलाई हुने गरी खानेपानी लैजाने तयारी भईरहेको छ । गाउँले सक्रिय भएपछि सरकारको थोरै लगानीमा पनि धेरै काम गर्न सकिने वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

खानेपानी योजना सञ्चालन भएपछि करिब २ सय घरका १ हजार जना लाभान्वित हुनेछन् । श्रमदानको भावना र उर्जा सबै गाउँलेमा हुने हो भने थोरै लगानी गरेर धेरै काम गर्न सकिने चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार