खानेपानी संस्थाको ८ महिनाको आम्दानी ३ करोड

सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चालू आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा तीन करोड २३ लाख ६९ हजार आम्दानी गरेको हो । संस्थाले ०७५/७६ को फागुन मसान्तसम्म सञ्चालन तर्फ तीन करोड ८ लाख ७२ हजार रुपैयाँ र गैरसञ्चालन तर्फ १४ लाख ९७ हजार गरी तीन करोड २३ लाख ६९ हजार आम्दानी हासिल गरेको हो ।

 

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले कार्यालय सञ्चालनतर्फ एक करोड सात लाख, पुँजीगत खर्च तर्फ ४२ लाख ७ हजार, नगर विकास कोष साँवा ब्याज किस्ता ८२ लाख ६९ हजार रुपैयाँ गरी २ करोड ७९ लाख ३२ हजार रुपैयाँ खर्च भएको प्रतिवेदन पेश गर्नुभयो ।

फागुन मसान्त सम्मको बैंक मौज्दात ३ करोड ५२ लाख ४५ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष ०७४/७५ मा ८ करोड ५० लाख ६८ हजार आम्दानी र ९ करोड ९९ लाख २२ हजार रुपैयाँ खर्च भएको थियो ।

संस्थाको अठारौं साधारण सभामा उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी ल्याउनुपर्ने सुझाव दिइएको छ । साधारण सभामा प्रदेश सभाका सांसद यामलाल कँडेलले सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि सहकार्य गरेर जानुपर्ने बताउनुभयो ।

उहाँले पार्टीगत राजनीति नभनी खानेपानीको समस्या समाधान गर्न जिम्मेवारी निकाय बीच सहकार्य हुनुपर्ने बताउनुभयो । खानेपानी समस्या कुनै दलको नभई समग्र उपत्यकावासीकै भएकाले जिम्मेवार निकायले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पूरा गर्न समेत आग्रह गर्नुभयो ।

यस्तै नगरप्रमुख देवकुमार सुवेदीले स्वच्छ खानेपानी ल्याउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । आफू जनप्रतिनिधि भएको हिसाबले भेरी नदीको पानी उपत्यकामा ल्याउन सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार