सल्यान : कालीमाटी गाउँपालिका–२, जेलेनीमा खानेपानी योजना सुरु भएको ४० वर्षपछि स्थानीयले खानेपानी सुविधा पाएका छन् । जेलेनीका ३५ घरधुरीलाई लक्षित गर्दै खानेपानी योजना सञ्चालन भएको थियो । स्थानीयले वर्षौंदेखिको खानेपानी समस्याबाट मुक्ति पाएका हुन् ।
गाउँमा खानेपानी पुर्याउन स्थानीयले पाँच लाख रुपैयाँ बढीको श्रमदान गरेका छन् । यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।
२०३५ सालमा गाउँमा सुरु भएको खानेपानी योजना पूरा नभएपछि स्थानीयले लामो समयदेखि खानेपानी समस्या भोग्दै आइरहेका थिए । पानीका लागि ठूलो कष्ट सहँदै आएका जेलेनीका बासिन्दा घर नजिकैको धारामा पानी भर्न पाउँदा मक्ख छन् । गाउँमा खानेपानी योजना मार्फत सात स्थानमा धारा जडान गरिएको छ । एक धाराबाट तीनरचार घरले सामूहिक रूपमा खानेपानी सुविधा उपभोग गरिरहेका छन् ।
स्थानीय भीमीकुमारी ओलीले खानेपानी समस्याका कारण महिला र बालबालिका वर्षौंदेखि पीडित हुँदै आइरहेको बताउनुभयो । ‘रातबिरात केही नभनेरै पानीका लागि एक घण्टा टाढाको खोलामा झर्नुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो ‘अहिले घर नजिकैको धाराबाट २४ सै घण्टा खानेपानी उपभोग गर्न पाइरहेका छौं ।’
स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि विगतमा जस्तो दूषित पानीका कारण हुने विभिन्न स्वास्थ्य समस्याबाट मुक्ति पाइएको स्थानीय खिमबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार घर नजिकै धारा बनेपछि बालबालिकाको पढाइ नियमित बनेको छ ।
कालीमाटी गाउँपालिका–२ का वडाध्यक्ष इन्द्रबहादुर ओलीले भौगोलिक विकटताका कारण लामो समयदेखि स्थानीयवासी खानेपानी समस्याबाट पीडित हुँदै आएको बताउुभयो । गाउँपालिकाको १ लाख ५० हजार र दलित विकास समाजद्वारा सञ्चालित पहल कार्यक्रमको पाँच लाख रुपैयाँ अनुदानमा खानेपानी योजना सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
घर अगाडि पानीको धारा भएपछि स्थानीयले वर्षौंदेखिको पानीको दुःख भुलेका छन्, बचेको पानीलाई करेसाबारीमा लगाउन थालेपछि तरकारी उत्पादन हुन थालेको छ ।


754 पटक हेरिएको 

