हरियो बन कार्यक्रमको सहयोगमा ठुलबेंसीमा घरघरै धारा

लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ५ घेर्मुको ठुलबेंसी टोलमा हरियो बन कार्यक्रमको सहयोगमा घरघरमै धारा जडान गरिएको छ ।

उक्त टोलमा केयर नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडिसी) को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले टोलको ८ घरमा खानेपानीको धारा जडान गरेको हो । चप्रोकुना खानेपानी उपभोक्ता समितिमार्फत गाउँमा पानी ल्याइएको हो । समितिका अध्यक्ष धनप्रसाद गुरुङका अनुसार गाउँदेखि २ सय मिटर टाढाको चप्रेकुनाबाट पानी ल्याइएको छ ।

गाउँमा खानेपानी ल्याउनका लागि २०७३ मा ८० हजार रुपियाँको ट्याङकी निर्माण गरिएको थियो । २०७४ मा पनि अर्को ट्याङकी राखिएको थियो । सबै काम गरी २ लाख ३० हजार रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । घरघरमै धारा जडानपछि स्थानीयलाई सहज भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘पानीका लागि धेरै दुःख थियो । कहिले पल्लो गाउँमा त, कहिले खोलाको पानी खानुपथ्र्यो । अहिले जुनसुकै समय पानी आउँछ । कामकाज गर्न र बारीमा हाल्न समेत सजिलो भएको छ ।’

हरियो वन कार्यक्रम फिल्ड कार्यालयका पोखराराका जलाधार तथा विपद जोखिम न्यूनिकरण अधिकृत नवीन ढुंगानाका अनुसार उक्त टोलमा खानेपानीको समस्या रहेको भन्ने कुरा जानकारीमा आएकाले सहयोग गरिएको हो । उक्त क्षेत्रमा हरियो वन कार्यक्रमले वातावरण सेवा भुत्तानी, वातावरण संरक्षण, आयआर्जनमा सघाउ पु-याउन तालिम, आवश्यक सहयोग गर्दै आएको आएको उहाँले बताउनुभयो ।

स्थानीय नेमकुमारी गुरुङले आफ्नो टोल अन्य टोल भन्दा उचाईमा रहेकाले नियमित पानी नआउने समस्या रहेको बताउनुभयो । हरियो वन कार्यक्रम मार्फत घरघरै धारा जडानपछि खानेपानीका लागि सहज भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘पहिले पानी लिनका लागि अर्को टोलमा जानुपथ्र्यो । नाली र कुलोको समेत पानी पिउन बाध्य भएका थियौं । अहिले घरमै धारा छ । २४ सैं घण्टा पानी आउँछ । पानीका लागि कुनै समस्या भोग्नुपरेको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार