झापाका ५ खानेपानी आयोजनालाई बजेट व्यवस्था गरिदिन राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको पत्र

काठमाडौ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा पाँच वटा खानेपानी आयोजनालाई बजेट बिनियोजन गरिदिन आग्रह गर्दै राष्ट्रिय योजना आयोगलाई पत्राचार गर्नुभएको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा समावेश गर्न विभिन्न मन्त्रालयसँग सम्बन्धित ६८ योजनाको सूची पठाएकोमा खानेपानी मन्त्रालयसँग सम्बन्धित पाँच वटा आयोजना पनि समावेश गर्नुभएको हो ।

राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेर पठाएको पत्रमा खानेपानी तथा सरसफाइ सँग सम्बन्धित निम्न आयोजनाहरु छन् ।

– दमक ढल निर्माण तथा पानी प्रशोधन आयोजना

 

– सितापुरी उच्च प्रविधियुक्त खानेपानी सुधार कार्यक्रम, कमल झापा

 

– महारानीझोडा उच्च प्रविधियुक्त खानेपानी सुधार कार्यक्रम गौरादह ५ झापा

 

– ग्वालडुब्बा खानेपानी आयोजना गौरादह ७ झापा

 

– बेलागी खानेपानी आयोजना दमक ३ झापा

गत चैत्र २९ गते नै पठाएको प्रस्तावमा खानेपानी मन्त्राल सहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ११, युवा तथा खेलकुद मन्त्रालयका ७, सहरी विकासका ६, बैकल्पिक उर्जाका ५, जल तथा उत्पन्न प्रकोप ३, मझौला सिञ्चाईं  ५, डिप ट्यूवेल ४, पुल ५, पर्यटन १५ र उर्जा मन्त्रालय २ गरी ९० वटा आयोजनाहरु समावेश गरिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले नै पत्र लेखेर राष्ट्रिय योजना आयोगलाई यो – यो योजना समावेश गर्नु भनेर पत्राचार गर्नु अशोभनिय काम भएको भन्दै प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टि समेत प्रकट हुन थालेका छन् ।

प्रधानमन्त्रीले सिङ्गो राष्ट्रको विकासको बारेमा सोच्नुपर्नेमा आफ्नो गृह जिल्ला र त्यसमा पनि निर्वाचन क्षेत्रमा मात्र योजना पारिदिनु भन्ने प्रस्तावले उहाँको सोच संकुचन भएको विश्लेषकहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार