खानेपानी अभावले रारा गाउँमा कन्त बिजोग

जुम्ला : पानीले भरिएको गाग्री एउटा पनि छैन । धाराबाट पानी नझरेको कति समय भयो त्यो थाहा छैन । तैपनि धारोबाट पानी झर्ने आशामा विभिन्न आकार प्रकारका गाग्री र पानी भर्ने अन्य भाँडाहरु लस्करै राखिएका छन् । धारामा पानी नआएपछि भाँडाकुँडा लिएर सामूहिक धारामा आएका मानिसहरु अरु फर्किसकेका छन् ।

दुई जना बालिकाहरु भने पानी आउने आशामा बसिरहेका छन् । बच्चा च्यापेर पनि गाग्रीको व्यवस्थापन गर्दै गरेकी एक जना बालिकाको साह्रै कारुणिक अवस्था देखिन्छ भने अर्की बालिका अडेस लगाएर पानीको पाइप समातेर बसिरहेकी छिन् ।

यो तस्बिर नै काफी छ कि ग्रामीण भेगमा खानेपानीको समस्या कुन हद सम्म छ भन्ने । खानेपानी अभावमा सिर्जना भएको यो भयावह अवस्था जुम्लाको तिला गाउँपालिका १ रारा गाउँको हो । खानेपानीको अभावमा धारामा पानी आउने समय भन्दा अघि नै गएर पालो लाइनमा नबसे पानी पाउन मुश्किल छ ।

खानेपानी अभावकै कारण मानिसको आयआर्जन गर्ने क्षमता कम हुँदै गएको छ भने बालबालिकाको पढाईको स्तर खस्किएको छ । बालबालिकाले खानेपानी ओसार्नु पर्दा बाल श्रम शोषण समेत हुने गरेको छ । सरसफाइमा कमी, खानेपानीजन्य रोगमा बृद्धि लगायत समस्या पनि खानेपानी अभावकै कारण सिर्जना भईरहेका छन् ।

खानेपानीको समस्या समाधान गर्न स्थानीय सरकारले बढी जोड दिन आवश्यक छ । सुख्खा क्षेत्रमा समेत खानेपानी आपूर्तिका लागि विभिन्न प्रविधिहरु भित्रिएका छन् । आकाशेपानी संकलन, लिफ्टिङ प्रणाली लगायत प्रविधिहरु सुख्खा क्षेत्रका लागि उपयोगी प्रविधिहरु हुन् । गाउँपालिका वा नगरपालिकाले प्रदेश सरकार तथा संघीय सरकार र अन्य संघसंस्थासँग सह लगानी गरेर पनि खानेपानीको समस्या हल गर्न सकिने खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौडाका प्रमुख नन्दलाल बन्जाडेले बताउनुभयो ।

सहलगानी गरेर खानेपानी आयोजना सञ्चालन गर्दा एउटै सरकारलाई आर्थिक भार नपर्ने र ठूलै लगानी लाग्ने खानेपानी आयोजना समेत सरल तरिकाले निर्माण सम्पन्न गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार